पुर्वराजालाई शुभकामना दिनेको भिड- ( फोटो फिचर )

194

नेपालगन्ज, असार २३-
पुर्वराजा ज्ञानेन्द्र शाहको शनिबार ७२ औं जन्मोत्सव धुमधामका साथ मनाइएको छ । जन्मदिनका अवसरमा शनिबार बिहान ८ बजे नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा विशेष पुजा गरेर पुर्वराजा ज्ञानेन्द्र पुनः होटल सोल्टी फर्केका थिए । होटेल सोल्टीमा विशेष पुजा गरे पश्चात पूर्वराजा ज्ञानेन्द्र शाहलाई औपचारिक रुपमा शुभकामना प्रदान गरिएको थियो ।

सयौंको संख्यामा देश तथा विदेशबाट आएका शुभेच्छुक, विभिन्न पार्टी, संगठनका ब्यक्तिले सोल्टी होटेलमै पुगेर शुभकामना प्रदान गरेका थिए । पुर्वराजालाई जन्मदिनको शुभकामना दिन आएका अधिकांस ब्यक्तिले दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै पुनः सक्रिय हुन सुझाव दिए । देशमा देखिएको राजनीतिक अस्थिरता, देशको सार्वभौमता, अखण्डता र राष्ट्र कमजोर हुदै गएकोप्रति चिन्ता ब्यक्त गर्दै राजा विनाको देश अधुरो भएको शुभकामना दिन आएका व्यक्तिले बताएका थिए । पुर्वराजालाई शुभकामना दिने क्रममा जलवायु अभियन्ता हेमन्तराज काफ्लेले सितलचिनीको विरुवा उपहार स्वरुप प्रदान गरे ।

यसैबीच पुर्वराजा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिन नेपालन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा समेत सोल्टी होटल पुगेका थिए । पुर्वराजालाई जन्मदिनको शुभकामना दिनेको दिनभर भिड लागेको थियो । पश्चिम नेपालमै पहिलो पटक पुर्वराजा ज्ञानेन्द्रले आफ्नो जन्मउत्सव मनाएका हुन् । जन्मउत्सव मनाउन पुर्वराजा ज्ञानेन्द्रसहित पत्नी कोमल, छोरा पारश, बुहारी हिमानी, छोरी प्रेरणा, नाती, नातिना तथा आफन्त गत बुधबार नेपालगन्ज आएका थिए । पुर्वराजा र परिवारको बसाई केहीदिन लम्बिने स्रोतले जनाएको छ ।

 

Womui
Womui