कैलाश मानसरोवरबाट फर्केका यात्रुको विजोग

255

नेपालगन्ज, असार २१-
कैलाश मानसरोवरबाट फर्केर नेपालगन्ज आईपुगेपछि मात्र भारत कलकत्ताकी रिता हल्लवलाई बाँच्ने आशा पलायो । तिर्थयात्राका लागि मानसरोवर पुगेको बेला मौसम प्रतिकुलताका कारण अलपत्र परेकी उनी बल्ल तल्ल ज्यान जोगाएर नेपालगन्ज आईपुगिन् । मौसम प्रतिकुलताको कारण आफु लगायत थुप्रै तिर्थयात्री बीचमै फसेको बताउँदै भनिन्, ‘हिल्साको अवस्था बेहाल छ, सिमिकोट आएपछि थोरै राहत भयो, नेपालगन्ज आएपछि मात्र बाँच्ने आशा पलायो ।’ मौसम प्रतिकुलताका कारण धेरै यात्रु फसेका कारण हिल्सामा खान, बस्न समस्या भएको र बिरामीले औषधी र पानी समेत नपाएको उनले बताईन् ।

हिल्सामा फसेका तिर्थयात्रुलाई छिटो भन्दा छिटो उद्धार गर्न उनले आग्रह गरिन् । रितासँगै नेपालगन्ज आईपुगेका कलकत्ताकै पिके बेनर्जीले मानसरोवर तिर्थयात्रीलाई समस्यामाथी समस्या रहेको सुनाए । उनले अत्यावश्यक बस्तुको समेत अभाव भएको भन्दै धेरै जना छट्पटाईरहेको बताए । ‘औषधी छैन, पानी छैन, भोक लाग्यो भने खाना पाईदैन,’ उनले भने ‘हिल्सामा मानसरोवरदेखी हिल्सासम्मको क्षेत्रमा धेरै गाह्रो स्थिती छ ।’ मानसरोवरबाट फर्केर आएका अधिकांसले मौसम प्रतिकुलताको कारण सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् । अविरल वर्षाका कारण हिमाली जिल्लामा उडान अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए ।

अलपत्र परेका यात्रुलाई हुम्लाको सिमिकोट विमानस्थल र नेपाल-तिब्बत सीमा नाका हिल्साबाट नेपालगन्ज ल्याउने क्रम सुरु भएको छ । जहाजको उडान नियमित भएपछि मंगलबारबाट हिल्सा क्षेत्रबाट सिमिकोट सम्म र सिमिकोटबाट नेपालगन्जसम्म तीर्थयात्रुलाई ल्याउन थालिएको नागरिक उड्ययन कार्यालय नेपालगन्जले जनाएको छ । हुम्लाबाट भारतीय तीर्थयात्रुलाई नेपालगन्ज ल्याउन समिट, सीता र तारा एयरलाइन्सको दैनिक १०/१२ वटा उडान हुने गरेको छ । भारतीय तीर्थ यात्रुको उद्धारमा स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी तथा हेलिकप्टर खटाइएको छ । कैलाश मानसरोवरमा लेक लाग्ने समस्याका कारण ३ जना र बाटोमा फर्कने क्रममा ४ गरी कुल ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Womui
Womui