विदेश भन्दा स्वदेशमा कमाउन सहज

56

मालती ओली
काठमाडौं, असार २१ । साउदी अरेबयिा, इजरायल र युएई १२ वर्ष काम गर्दाको भन्दा बाराका खोजराज कटुवाल यतिखेर निकै खुशी र सम्पन्न छन् । वैदेशिक रोजगारीमा जति नंग्रा ख्याएपनि केही उपलब्धी नभएपछि स्वदेश फर्केका कटुवाल यतिखेर स्वदेशमा बस्न पाउँदा खुशी त छन् नै । साथै उनको आम्दानी पनि निकै राम्रो छ । बाराको नीजगढमा कृषि कर्मका लागेका उनी यतिखेर आफूले त कमाउँछन् नै । साथै अन्य बेरोजगारलाई रोजगारी समेत दिन सफल भएको बताउँछन् ।


त्यस्तै रोजगारीका लागि संयुक्त अरब इमिरेट्स पुगेका सोनाम लामाले यतिखेर १६ करोड लगानीमा बाख्रापालन सुरु गरेका छन् । विदेशमा जति कमाइ गरे पनि कुनै उपलब्धि नहुने देखेपछि स्वदेशमै केही गर्त तत्पर भएको लामाको भनाइ छ । विदेशको रोजगारी छाडेर स्वदेशमा उद्यमी बनेका युवामध्ये आठ युवालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ । युवाको वैदेशिक रोजगारी मोह घटाउने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको उद्यमी पुरस्कार कार्यक्रम अनुसार यसवर्ष पनि स्वदेशमा राम्रो काम गर्नेलाई सम्मान गरिएको मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए ।

मन्त्रालयले लमजुङको सुन्दरबजार–३ का सोनाम लामालाई सर्वोत्कृष्ट उद्यमी र अन्य सात जनालाई उत्कृष्ट उद्यमी पुरस्कारले सम्मान गरेको छ । उत्कृष्ट उद्यमी पुरस्कारले सम्मानित हुनेहरूमा संयुक्त अरब इमिरेट्समा साढे दुई वर्ष काम गरेर फर्की बाग्लुङ, बिहुँकोमटमा एक करोड रुपैयाँ लगानी गरी अलैंची खेती थालेका देवीप्रसाद खत्री, कतारमा आठ वर्ष काम गरेर हाल खोटाङ, मझुँवागढी–९ मा १६ लाख लगानी गरी होटल तथा कृषि फार्म खोलेका हरि लुइँटेल, साउदी अरब, युएई र इजराजलमा १२ वर्ष बसेर ५५ लाख रुपैयाँ लगानी गरी तरकारी खेती, माइक्रो सिँचाइ तथा नर्सरी चलाउँदै आएको नेपाल थोपा सिँचाइ प्रालिका खोजराज कटुवाल छन् ।

त्यस्तै, साउदी अरबमा १२ वर्षको कामपछि फर्केर कृषि तथा बाख्रापालनमा ७५ लाख रुपैयाँ लगानी गरेका पर्वत, क्याङका गणेश पुनमगर, युएईमा तीन वर्ष काम गरी फर्केर ठाकुरबाबा–२ बर्दियामा २७ लाख लगानीमा बाख्र्रापालन गरिरहेका प्रेमप्रसाद लामिछानेलाई मन्त्रालयले सम्मान गरेको छ । विदेशमा काम गरी फर्केकामध्ये उद्यमी पुरस्कार पाउने अन्यमा एक करोड ७५ लाख रुपैयाँमा एकीकृत कृषि फार्म चलाइरहेका रुपन्देही, शंकरपुरका द्र्रोणप्रसाद न्यौपाने, १० विघा जमिनमा अर्गानिक तरकारी खेती गरिरहेका बर्दिया, बढैयाताल–७ का रामदिपाल थारु छन् । सर्वोत्कृष्ट पुरस्कार पाउने लामाले १६ करोड लगानीमा एकीकृत कृषि फार्म सञ्चालन गरिरहेका छन् ।

मन्त्रालयले सर्वोत्कृष्ट पुरस्कार पाउने युवालाई एक लाख रुपैयाँ र उत्कृष्ट पुरस्कार पाउनेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले सम्मान ग¥यो । सोही कार्यक्रममा बोल्दै पुरस्तकृतमध्येका एक कटवालले वैदेशिक रोजगारीमा रहेका कैयन युवाले स्वदेशमा उद्यम गर्न खोजे पनि सरकारी तवरबाट सहयोग हुन नसक्दा समस्या भइरहेको गुनासो गरे । मन्त्रालयका सचिव महेश दाहालले वैदेशिक रोजगारीमा जाने हरेक युवाले स्वदेशमा रोजगारी सिर्जना हुन सक्यो भने मात्र सबैको कल्याण हुन्छ भन्ने बुझ्न जरूरी रहेको बताए । उनले कतिपय युवामा स्वदेशमा काम नगर्ने केवल विदेश जाने मोह मात्र रहेको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले युवालाई स्वदेशमा रोजगारीका अवसर प्रदान गर्न चाँडै न्यूनतम रोजगारी प्रत्याभूतका कार्यक्रम आउने बताएका छन् । कृषि, घरेलु हस्तकला, पर्यटन रोजगारी सिर्जना गर्ने मुख्य क्षेत्र भएको विष्टको भनाइ छ ।

Womui
Womui