सरकारको निर्णयले दुई दर्जनले पद गुमाउँदै

165

छिनछिन खबर

काठमाडौं, असार २१  । शेरबहादुर देउवा सरकारले नियुक्ति गरेका दर्जनौं नियुक्ति खारेजीमा परेका छन् । मन्त्रिपरिषद् बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्वका सबै नियुक्ति खारेज गरेको हो । सोही निर्णय अनुसार विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीमा परेका छन् ।

सोही निर्णगसँगै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषालले पनि पद गुमाएका हुन् । पूर्व सचिव भूषाल कांग्रेस नेता रामचन्द्र पौडेलका सम्धी समेत हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई पुसको पहिलो साता पुनः नियुक्ति दिइएकोमा उनको नियुक्ति पनि खारेज भएको छ ।

त्यस्तै २ वर्षका लागि गत मंसिरमा चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलले पनि पद गुमाएकी छिन् ।
गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्याय पनि चुनावपछि नियुक्त गरिएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा गत पुसमा नियुक्त भएका गंगाधर पराजुलीको पनि नियुक्ति खारेज भएको छ ।
त्यस्तै,नेपाल स्टक एक्सेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष दक्ष पौडेल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति संगीता भण्डारी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नरेन्द्रराज बस्नेत, बौद्धनाथ क्षेत्र विकास समितिको सदस्य सचिव कुयाङछुयाङ दोर्जे लामा, राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा चन्द्रमणि पौडेल, खानेपानी संस्थानको महाप्रबन्धकमा भूपेन्द्र प्रसाद, कर्जा सुरक्षा कोषको कार्यकारी अधिकृतमा बिष्णुबाबु मिश्रको नियुक्ति पनि खारेज हुने भएको छ ।

त्यस्तै विभिन्न जिल्लाका युवा तथा खेलकुद परिषद्का नियुक्तिहरु पनि खारेज हुने भएका छन् । चुनावकै बेला तत्कालीन एमालेले राजनीतिक नियुक्ति नगर्न सरकारलाई चेतावनी दिएको थियो ।

Womui
Womui