उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा ६ बुँदे प्रतिवद्धता

322

नेपालगन्ज, असार १९-
केहीदिन देखी नेपालगन्जमा डुबानको सवाल जल्दो बल्दो रुपले उठिरहेको छ । ढल तथा नालाको उचित निकास नहुँदा डुबान निम्तिरहेको भन्दै नगरबासीले नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधीमाथी औला सोझाईरहेका छन् । ठिक यही समयमा नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सुनुवाई आयोजना गर्यो । जुन कार्यक्रम नगरबासीका लागि ढुंगा खोज्दा देउता मिलेझै भयो ।

कार्यक्रममा जिज्ञासा राख्ने अधिकांसले डुबान समस्यालाई प्रमुखताका साथ उठाए । उपस्थित सर्वसाधारणले डुवान तथा ढल निकासको समस्या, सिमा सुरक्षा, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक शौचालय, सडक निर्माण, छाडा चौपाय व्यवस्थापन, बधशाला निर्माण, सडक अतिक्रमण, खाद्य तथा मासुजन्य पदार्थको गुणस्तरियता लगायत विषयमा जिज्ञासा राखे । नगरबासीको प्रश्नको उत्तर दिदै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणा, उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकिय अधिकृत तोयनारायण सुवेदी लगायतले नेपालगन्जमा ९० किलोमिटर सडक बनिरहेको, ढल निकासका लागि प्रयास भईरहेको, छाडा चौपाय, सडक अतिक्रमण नियन्त्रणका कार्य भईरहेको बताए ।

नेपालगन्जलाई सभ्य र सुन्दर शहर बनाउन आफुहरु लागिरहेको मेयर राणाको भनाई छ । सार्वजनिक सुनुवाईको अन्त्यमा ६ बुँदे सार्वजनिक प्रतिवद्धता व्यक्त गरिएको छ । उपमहानगर क्षेत्रमा ३ महिनाभित्र ४ वटा घुम्ती शौचालय सञ्चालनमा ल्याउने, उपमहानगरपालिकाका सम्पूर्ण वडामा योग तथा व्यायमका कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकका बारेमा आवश्यक छलफल गरि समस्याको समाधान गर्ने, उपमहानगरपालिकाभित्र व्यवस्थित पार्किङको व्यवस्था गर्ने लगायत प्रतिवद्धता व्यक्त गरियो । सार्वजनिक सुनुवाईको सहजीकरण बागेश्वरी असल शासन क्लब (बास) ले गरेको थियो ।

Womui
Womui