सन्दर्भ धान दिवस, मासिक २ अर्बको धान आयात गर्ने देश कृषि प्रधान !

377

 मालती ओली
काठमाडौं, असार १५ । मानो रोपी, मुरी फलाउने महिना असार । त्यसमा पनि असार १५ को दिन धान दिवस । दिवस नै घोषणा गरिएपछि सरकारी र विकासे कार्यालयले दिवस मनाउने नै भए । यस्तो दिवस मनाउन थालेको पनि वर्षौं भइसक्यो । तर, नेपालीले विदेशबाट आयात गर्ने धान भने बढ्दो छ । शुक्रबार पनि सरकारले ‘दुई बाली धानखेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भने नारासाथ धान दिवस देशभर मनाइरहेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धान दिवसमा सुनसरी, कपिलवस्तु र काठमाडौंमा विशेष कार्यक्रम गर्ने भएको छ ।

२०६१ सालदेखि विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्र्रािष्ट्रय धान वर्ष घोषणा गर्न अनुरोध गरेसँग नेपालले पनि राष्ट्रिय धान दिवस मनाउन थालेको हो ।

मासिक २ अर्बको धान आयात
नेपालमा पछिल्लो समयमा मासिक दुई अर्बको धान आयात हुन थालेको छ । कृषि मन्त्रालयका अनुसार नेपालमा हाल साढे ५२ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तर कृषि प्रधान भनिएको देशमै मासिक औसत २ अर्ब मूल्य बराबरको धान विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।

कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीका अनुसार नेपालमा वार्षिक ५६ लाख मेट्रिक टन धान खपत हुने गरेको छ । ‘ उनी आगामी तीन वर्ष्भित्र नेपाललाई धानमा अत्मनिर्भर बनाउने योजना रहेको सुनाउँछन् । नेपालमा मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा धानखेती गर्ने योग्य जमिन छ । तराई, मध्य पहाड र उच्च पहाडमा गरी जम्मा ६३ प्रजातिका धानखेती हुनेगरेको नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ ।

नेपालमा मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे (बोरो) धानको खेती हुने गरेको मन्त्रालयले जानकारी दिएको छ। नेपालको ३७ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ। पानीको सुविधा पुगे ४६ प्रतिशत जमिनमा २ बाली धान खेती हुन योग्य जमिन भएको परिषद्को अध्ययनमा उल्लेख गरिएको छ । नेपालमा आकाशेपानीको भरमा भने १५ प्रतिशत जमिनमा मात्र धान खेती हुन्छ । विश्वका १ सय १४ मुलुकमा धान उत्पादन हुने गरेको संयुक्त राष्ट्रसंघको एक अध्ययनमा उल्लेख छ । ती मुलुकका १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड ७१ लाख मेट्रिक टन धान उत्पादन हुन्छ ।

सबैभन्दा बढी चीनमा धान उत्पादन हुनेगरेको छ । यसपछि भारत, इन्डोनेसिया, बगंलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल, जापान, भुटान र नेपाल रहेका छन् ।

Womui
Womui