नेपाल एयरलाइन्सको पहिलो वाइड बडी जहाज आज आइपुग्दै

231

छिनछिन खबर 

काठमाडौं, असार १४ । नेपाल एयरलाइन्सको पहिलो एयरबस ३३० वाइडबडी जहाज बिहीबार काठमाडौं आउँदै छ । साढे एक वर्ष लामो खरिद प्रक्रियापछि नेपाल एयरलाइन्सले पहिलोपटक ठुलो जहाज ल्याइरहेको हो । नेपाल एयरलाइन्सका लागि पोर्चुगिज कम्पनी हाइफ्लाईले अर्डर गरेर निर्माण भएको एयरबसको उक्त जहाज नेपाल एयरलाइन्सले ल्याउने निर्णय गरेको थियो । जहाज हाइफ्लाइका पाइलटले एयरबसको कारखाना फ्रान्सको टुलुसबाट उडाएर काठमाडौं ल्याउने नेपाल एयरलाइन्सका अधिकारीहरुले जानकारी दिए ।

रोल्सरोयस ट्रेन्ट ७०० इन्जिन जडान हुने जहाजमा २७४ सिट हुनेछन् । २५६ इकनोमी क्लास हुने जहाजमा १८ बिजनेस क्लास रहनेछन् ।
२०७३ चैतमा एयरलाइन्सले अमेरिकी कम्पनी एएआर कर्पोरेशनसँग खरिद सम्झौता गरेको थियो । २०७३ कात्तिकमा विमान किन्न प्रकाशित गरेको विश्वव्यापी टेन्डरमा एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुईवटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो ।

एयरलाइन्सले जहाज किन्नको लागि नागरिक लगानी कोष र संचय कोषसँग ऋण लिएको छ । अर्को जहाज भने एक महिनाभित्र आइसक्ने एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए । पहिलो आएको जहाजबाट अगष्ट १ बाट काठमाडौंबाट युएइको दुबईमा उडान गर्ने एयरलाइन्सको योजना रहेको छ ।

कोरियाको इन्चोन विमानस्थलमा उडान गर्ने घोषणा गरेको भएपनि नयाँ जहाजबाट नयाँ गन्तव्यमा उडान गर्न नपाइने भएकोले ३ महिना पुरानै गन्तव्यमा उडान गर्न लागिएको कंसाकारले जानकारी दिए ।२ वाइड बडी उडानका लागि १६ जना क्याप्टेन(पाइलट) चाहिने भएपनि निगमले अहिलेसम्म २ जनामा तयार पारेको छ। बाँकी पाइलटको लागि विदेशी कम्पनीहरुसँग कुरा भइरहेको एयरलाइन्सले जानकारी दिएको छ ।

एउटा वाइड बडी जहाज उडाउन ८ क्याप्टेन र ८ कोपाइलट चाहिन्छन्। यसमा सुरुमा ४ जना क्याप्टेन र ६ जना कोपाइलट एयरलाइन्सले नै तयार गरिरहेको र अहिले २ जनामात्र क्याप्टेन तयार भएको कंसाकारले जानकारी दिए ।

Womui
Womui