विदेशबाट आए एकैदिन आए चार ‘कफिन’

529

छिनछिन खबर
काठमाडौं, असार १२ । राम्रो कमाइ हुने आशाले वैदेशिक रोजगारीमा गएका चार युवाको शव एकै दिन मंगलबार नेपाल आइपुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा ती शव आउँदै गर्दा असहज वातावरण थियो । विदेशमा ज्यान गुमाएका कामदारको शव बुझ्ने आफन्तजन शोकमा थिए ।


धनुषाका सञ्जय दास तत्मा (मलेसिया), तनहुँका खुमबहादुर गुरुङ (कुवेत), झापाका सुजन राजवंशी (कतार) र गुल्मीका दानबहादुर पौडेल (कुवेत) को शव नेपाल ल्याइएको हो ।
रोजगारीमा गएका नेपाली युवाको शव भरिएको कफिन विमानस्थलमा दिनहुँ कसै न कसैको आइरहेको हुन्छ ।
कतारमा रहेका सुजन राजवंशी काम गरेर कोठामा फर्किएपछि मृत्यु भएको खबर आएको झापाबाट शव बुझ्न आएका उनका काका वानु राजवंशीले बताए । २४ वर्षीय सुजन ६ महिनाअघि कतार गएका थिए । काका वानुका अनुसार उनले आमालाई घरमा पैसा पठाइदिने भनेर फोनमा गफ गरेको र त्यसको केही घन्टापछि नै मृत्युको खबर आएको थियो ।
यस्तै, मलेसियामा ज्यान गुमाएका धुनषाका सञ्जय दास तत्मा करार अवधि सकिएर घर फर्किने समय भएको थियो । केही दिनपछि घर आउँछु भनेका तत्माको मृत्युको खबर आएको शव प्रतीक्षालयमा भेटिएका उनको ज्वाइँ रविन दासले बताए । ४२ वर्षीय तत्मा ३ वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए ।
असारको दुई सातामा रोजगारीका क्रममा मृत्यु भएका १३ श्रमिकको शव नेपाल आएको बोर्डको तथ्यांक छ । बोर्डका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा खाडी मुलुक, मलेसिया र अन्य देश पुगेका ७ सय ७७ नेपालीको मृत्यु भएको छ । यो अवधिमा सबैभन्दा धेरै मलेसियामा नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।

Womui
Womui