किन प्रधानमन्त्रीको भाषण शैलीमा परिवर्तन

161

छिनछिन खबर
काठमाडौं, असार १२ । सधै हाँसीमजाकसहित मंचमा देखिने प्रधानमन्त्री केपी ओली मंगलवार संसद सम्बोधन निकै ‘कुल’ देखिए ।

कतिपय सांसदले प्रधानमन्त्रीको मंगलवारको संसदको सम्बोधनलाई ‘अस्वभाविक’ जस्तो ठानेका छन् । उखान–टुक्का मिश्रित सम्बोधन रुचाउने प्रधानमन्त्री ओलीमा मंगलवार उत्साह पनि देखिएको थिएन् । उनले भ्रमणको प्रगति सुनाए ।

तिखो र व्यङ्ग्यात्मक शैलीमा आफ्ना कुरा राख्ने प्रधानमन्त्री ओलीको मंगलबारको प्रस्तुती प्रत्यक्ष देखेका र सुनेका सांसद यसलाई चासोसाथ हेरेका छन् ।६ दिनको चिीन भ्रमण सकेर फर्केका प्रधानमन्त्री ओली थाकेकै कारण उनको सम्बोधन ‘कुल’ देखिएको हो वा उनको स्वास्थ्यमा फेरि केही समस्या देखियो ? वा प्रधानमन्त्रीले आफ्नो शैली बदले ? तर, उनको ढिला प्रस्तुतिले चाहिँ उनी थकानमा थिए जस्तो देखाउँथ्यो ।

विगतमा आफ्ना प्रायः हरेक भाषण या सम्बोधनमा कँहि न कँहि उखान टुक्का प्रयोग गर्ने र कार्यक्रममा सहभागिहरुलाई हसाउँने प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधि सभामा सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा भने कँहिकतै त्यस्ता शव्दावली प्रयोग गरेननन् । काँग्रेस सांसद दीलेन्द्र बडुले अन्य दिनको तुलनामा मंगलबार प्रधानमन्त्रीको सम्बोधन र प्रस्तुति नरम देखिएको बताए ।

यस अघि प्रधानमन्त्री ओलीले संसदमा लामो भाषण गर्ने गर्थे । आज झण्डै आधा घण्टा जति मात्र वक्तव्य दिएको उनको भनाइ छ ।प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणवारे सोमवार दुई बजे नै संसदलाई जानकारी गराउने संसद सचिवालयको कार्यसूचिमा थियो । तर, अन्तिममा प्रधानमन्त्रीको सम्बोधनका लागि तयारी नपुगेको भन्दै मंगलवारका लागि सारिएको थियो । यसलाई पनि प्रधानमन्त्रीले ‘आराम’ खोजेको हुन सक्ने रुपमा हेरिएको थियो ।

आफ्नो वक्तव्य राखिसकेपछि नियामावली अनुसार प्रतिपक्षका सांसदले गरेको प्रश्नमा पनि प्रधानमन्त्री ओलीले विगतका तुलनामा अत्यन्तै नरम र सरल शैलीमा जवाफ दिए ।प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले प्रधानमन्त्री धपेडीमा परेका कारण मंगलबारको प्रस्तुती अन्यको तुलनामा केही कमजोरजस्तो देखिएको हुन सक्ने बताए ।

संसदमा प्रधानमन्त्रीले के भने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका थिए ।गत असार ५ देखि १० गतेसम्म भएको आफ्नो चीन भ्रमणको बिषयमा संघीय संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा देशलाई फाइदा पुग्ने यस्ता थुप्रै सहमति र सम्झौता भएको जानकारी दिए ।

भ्रमणका क्रममा सरकारी तर्फबाट १३ वटा र निजी क्षेत्रको तर्फबाट ९ वटा गरी २२ वटा सम्झौताभएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले निर्वाचन पछि बनेको सरकारबाट चीन सरकार धेरै आशावादी रहेको,सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पुरा गर्न यो सरकार सक्षमहुने विश्वास चीनले व्यक्त गरेको प्रधानमन्त्रीओलीले बताए ।

“नेपाल कसैका विरुद्ध कसैलाई उचाल्ने वा तत्कालिन हितका लागि गैह्र जिम्मेवार ढंगले प्रष्तुत हुने काम गर्दैनौ” प्रधानमन्त्री ओलीले भने “देशको हितलाई ध्यानमा राखेर मात्र हामी काम गछौं ।”

नेपाल र चीनबीच मित्रता र सद्ध्भावमा थप अभिवृद्धि गर्ने, दुई देशका बीचमा विगतमा भएका सम्झौता र समझदारीहरुको कार्यन्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने ,सरकारका आगामी प्राथमिकता चिनियाँ नेतृत्वलाई अवगत गराउने आफ्नो भ्रमणको उद्धेश्य रहेको प्रधानमन्त्री ओलीले बताए ।

यसैगरी राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रमा सहयोग तथा सहकार्य गर्नु पनि भ्रमणको उद्धेश्य रहेको प्रधानमन्त्री ओलीले बताए ।

हाम्रो भ्रमणका अधिकांस उद्धेश्य पुरा भएको हामीले महसुष गरेका छौं ” प्रधानमन्त्री ओलीले भने ।चीनमा रहंदा आफूले राष्ट्रपति सी जिनपिङ्ग,प ्रधानमन्त्री ली खच्याङ्ग, राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सुसँग भेट भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

यसैगरी तिब्बतको ल्हासामा तिब्बत जनसरकारका प्रमुख अध्यक्ष छि तालासँग पनि भेटघाट भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।प्रधानमन्त्री ओलीले चीनमा उर्जा सहयोग सम्बन्धी समझदारी पत्र,मितेरी पुल र रसुवा पुल पुननिर्माण सम्बन्धी सम्झौताहरु,मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बिन्ध प्राटोकल,लगानी तथा उत्पादन क्षमताका सहयोग सम्बन्धी समझदारी पत्र,नुवाकोट दरबार पुननिर्माण,रसुवा,दोलखा र सिन्धुपाल्चोकमा विद्यालय पुननिर्माण सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

यसैगरी पूर्वा तराइ नदी नियन्त्रण आयोजना अन्तरगत झापा जिल्लाका ९ वटा नदी नियन्त्रण सम्बन्धी समझदारी पत्रमापनि हस्ताक्षर भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

Womui
Womui