एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै, कुन कुन हुन् कम्पनी ?

83

छिनछिन खबर
काठमाडौं, असार ९ । विभिन्न ११ कम्पनीको सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रुपैयाँ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरिएको छ । ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन् ।

बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । सो उद्योगले एक कित्ता बराबर तीन कित्ता शेयर दिने गरी प्रस्ताव गरेको हो । सो उद्योगको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

यस्तै एनसिसि बैंकले दुई बराबर एक कित्ता शेयर दिने गरी प्रस्ताव गरेको छ । बैंकले दुई अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरका दुई करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ ।बोर्डमा दिएको आवेदनअनुसार उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पाँच बराबर एक कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ ।

बोर्डले सोधको आवश्यक जानकारीसहित पछिल्लो पटक कागजात पेश गरेका चार वित्तीय संस्थाको पनि हकप्रद शेयर बिक्रीको तयारी गरेको छ ।एक बराबर एक कित्ता शेयर बिक्री गर्न लागेको कम्पनीमा स्वदेशी लघुवित्तीय संस्था लिमिटेडले ११ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

त्यसको कूल मूल्य ११ करोड ५० लाख रुपैयाँ रहेको छ । एनआइसि एसिया क्यापिटल लिमिटेडको सो संस्थाको हकप्रद शेयरको बिक्री प्रबन्ध गर्ने छ । यस्तै माइक्रोफाइनान्स समूहकै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले दुई बराबर एक कित्ताको दरले हकप्रद शेयर बिक्री गर्ने तयारीका साथ बोर्डमा आवेदन दिएको छ ।

तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागिएको छ । सनराइज क्यापिटलले सो संस्थाको हकप्रद शेयर बिक्रीको प्रबन्ध गर्नेछ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले एक बराबर दुईका दरले छ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । एनएमबी क्यापिटलले बिक्री प्रबन्ध गर्नेछ ।

त्यसैगरी २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको सिटी एक्सप्रेस फाइनान्स कम्पनीले पनि आवश्यक तयारी गरेको छ । एक बराबर एक कित्ता हकप्रद शेयर दिने तयारी गरेको सो संस्थाको हकप्रद शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल मार्केट रहेको छ ।

बीमा समूहको आइएमइ जनरल इन्स्योरेन्सले दश बराबर आठ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको छ । ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हकप्रद शेयरको बिक्री प्रबन्ध गर्नेछ ।

प्रोग्रेसिभ फाइनान्स कम्पनीले एक बराबर दुई कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख कित्ता शेयर बिक्रीको तयारी गरिएको छ । सनराइन क्यापिटल सो कम्पनीको शेयर बिक्री प्रबन्धक रहेको छ ।त्यस्तै बोर्डमा आवेदन दिएकामा अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि रहेको छ ।

अपि पावरले एक बराबर दुई कित्ता शेयर दिने तयारी गरेको छ । दुई अर्ब १० करोड रुपैयाँ बराबरको २१ करोड कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।एभरेष्ट इन्सोरेन्सले पनि एक बराबर ६ कित्ता हकप्रद शेयर दिने गरी तयारी गरेको छ । ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी छ ।अपि पावरको सिद्धार्थ क्यापिटल बिक्री प्रबन्ध गर्नेछ भने एभरेष्टको पनि सोही कम्पनी नै बिक्री प्रबन्धक रहेको छ ।

रासस

Womui
Womui