प्रधानमन्त्री ओलीको चीन भ्रमण उपलब्धिमूलक र प्रेरणादायी रह्यो

47

छिनछिन खबर
बेइजिङ, असार ९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण तथा प्रेरणादायी भएको बताएका छन् ।भ्रमणका क्रममा बेइजिङको कार्यक्रम सकेर प्रधानमन्त्री केपी शर्मा ओली ल्हासा आउने क्रममा सञ्चारकर्मीसँग मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध भएका पछिल्लो राजनीतिक परिवर्तनलाई चीनले खुलेर प्रशंसा गरेको जानकारी दिए ।

प्रधानमन्त्रीले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्न चीनको सदा साथ रहने बलियो विश्वास चिनियाँ नेतृत्वले प्रकट गरेको बताए ।चीनसँग भएका सम्झौता र संयुक्त प्रेस विज्ञप्तिमा परराष्ट्रमन्त्री ज्ञवालीले समझदारीपत्रमा भएका हस्ताक्षर निकै महत्वपूर्ण भएको जनाएका छन् ।

यसपटक नेपाल सरकारले सबैभन्दा बढी प्राथमिकतामा राखेको विषय ट्रान्सहिमालयन बहुआयामिक यातायात सञ्चालनभित्र जोडिनुपर्छ र त्यसभित्र रेलमार्ग, सडक, हवाई क्षेत्र, अन्तरदेशीय प्रसारण उच्च प्राथमिकतामा छन् भनेर नेपालले पहिल्याएको र चीनले पनि सोहीरुपमा सहयोग गर्ने विश्वसनीय प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

चिनियाँ पक्षबाट आफूले पाएको जानकारीअनुसार आउने अगष्टसम्म रेलको सम्भाव्यता अध्ययन सकिने बताउँदै मन्त्री ज्ञवालीले भौगर्भिक अवस्थाका कारण थप अध्ययन आवश्यक रहेको बताए । उनले नेपाल रेलमार्गसँग जोडिने विषयमा कुनै शंका नगर्न आग्रहसमेत गरे ।नेपाल र चीनबीचमा विभिन्न तहको स्थायी संयन्त्र बन्ने र त्यसले दुई देशबीचको पारस्परिक सम्बन्धलाई नियमित रूपमा समीक्षा गर्ने बताउँदै मन्त्री ज्ञवालीले यस संयन्त्रले सहयोगका नयाँ क्षेत्रको अन्वेषणसमेत गर्ने जनाए ।

उनले दुई देशबीचमा भएका सम्झौता र कार्यान्वयनका लागि आवश्यक वातावरण मिलाउने र समस्या आए सुल्झाउने बताए ।त्यसैगरी परराष्ट्र मन्त्रालयस्तरको तीन तहको नियमित संवादको समेत अर्को समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिँदै अबका दिनमा परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र सहसचिव तथा महानिर्देशक तहमा नियमित संवाद हुने जानकारी दिए ।

यस्ता संयन्त्रले नेपाल–चीनका समग्र पक्षआई आवधिक रूपमा छलफल गरेर अगाडि बढाएर लैजाने बताउँदै विकास निर्माणका तहमा परराष्ट्र सचिव र चिनियाँ राजदूतबीचको संयन्त्रले स्थायीरुपमा नै काम गर्ने बताए ।जलस्रोतको क्षेत्रमा नेपालले चार तवरले सहयोगलाई अगाडि सारेको छ ।

अन्तरदेशीय विद्युत् प्रसारण लाइन, साझा लगानी, आवश्यकताअनुसार दुई देशबीच विद्युत्को व्यापार र नेपालको ऊर्जा क्षेत्रको अध्ययन तथा विकासका निम्ति अध्ययन गर्ने विषयमा सम्झौता भएको जानकारी दिए ।प्रसारण लाइन निर्माणमा हासिल गरेको दक्षता र साधन तथा स्रोतबाट नेपाल लाभान्वित हुन खोजेको र त्यसले ऊर्जाको क्षेत्रमा पारस्परिक सहयोग गर्ने मन्त्री ज्ञवालीले जानकारी दिए । उनले सिचुवान प्रान्तमा महावाणिज्य दूतावास खोल्ने सम्झौता भइसकेको उल्लेख गर्दै पारस्परिक सहयोगको हिसाबले त्यो निकै महत्वपूर्ण हुने जानकानरी दिए ।

(रासस)

Womui
Womui