विश्वकप विजेताको पुरस्कार तीन करोड ८० लाख अमेरिकी डलर पुग्यो

149

काठमाडौं, असार ६ (एजेन्सी) । विश्वकप फुटबलको पुरस्कार राशी २१ औं संस्करणमा पुग्दा तीन करोड ८० लाख अमेरिकी डलर (करिब चार अर्ब रुपैयाँ) पुगेको छ । २० औं संस्करणमा पुरस्कारको राशी तीन करोड ५० लाख अमेरिकी डलर थियो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबल जर्मनीले जित्दै ३ करोड ५० लाख अमेरिकी डलर हात पारेको थियो । यो पटक समूह चरणबाहेक अन्य तहको पुरस्कार राशी बढेको छ । यसपटक दोस्रो हुनेको पुरस्कार रकम पनि ३० लाख अमेरिकी डलर नै वृद्धि गरिएको छ ।
फिफाका अनुसार समूह चरण खेलेर बाहिरिने १६ टोलीले ८० लाख डलरका दरले पुरस्कार पाउनेछन् । अन्तिम १६ बाट ८ वटा टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलबाट बाहिरिने ८ समूहले प्रति समूह १ करोड २० लाख डलरका दरले पुरस्कार पाउनेछन् ।
क्वाटर फाइनलबाट ४ टोली सेमिफाइनलमा पुग्नेछन् । यो तहबाट बाहिरने टोलीले प्रतिटोली १ करोड ६० लाख डलर पुरस्कार पाउनेछन् । सेमिफाइनल खेल्ने चार टोलीमध्येबाट यो विश्वकपको चौथो, तेस्रो, दोस्रो र च्याम्पियन टोली घोषणा हुनेछ ।
चौथो हुने टोलीले २ करोड २० लाख अमेरिकी डलर पाउनेछन् । तेस्रो हुनेले २ करोड ४० लाख डलर दिइनेछ । दोस्रो हुनेले २ करोड ८० लाख हात पार्नेछ भने च्याम्पियन टोलीले ३ करोड ८० लाख अमेरिकी डलर पाउनेछ । विजेता समूहले १८ क्यारेट सुनको ट्रफी समेत पाउनेछ ।

रसियामा भइरहेको फिफा विश्वकप फुटबलको समग्र बजेट ७९ करोड १० लाख अमेरिकी डलर रहेको छ । पुरस्कारका लागि ४० करोड अमेरिकी डलर तोकिएको छ । विश्वकप अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगिता हो ।

Womui
Womui