विदेसिने ६ प्रतिशतले घट्दा कसरी रेमिट्यान्स ७ प्रतिशतले बढ्यो ?

36

छिनछन खबर
काठमाडौं, असार ४ । कामका लागि विदेसिने नेपालीको संख्या घटे पनि रेमिट्यान्समा भने सुधार आएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि बैशाखसम्मको वित्तीय विवरणअनुसार यस अवधिमा ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ ।

यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको यस अवधिको तुलनामा ७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस्तो रेमिट्यान्सको वृद्धिदर ५. २ प्रतिशत थियो । परिवर्तित बिनिमयदरले देखिएको कमजोर नेपाली मुद्रा तथा दक्ष कामदार बढ्न थालेसँगै रेमिट्यान्समा सुधार आएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका पूर्व कार्यकारी निर्देशक रघुराज काफ्ले भने कतार र मलेसियामा केही समय रोकिएको रेमिट्यान्स पछिल्लो समयमा आएको हुनसक्ने बताउँछन् । कतार केही महिना छिमेकी मुलुकको नाकाबन्दीमा परेको थियो भने मलेसियाले गैरकानुनी रूपमा बस्दै आएका कामदारलाई घर फर्कने अवधि तोकेको छ । ‘लामो समयसम्म मलेसियामा बस्दै आएका कामदार घर फर्कन पाउने भएपछि रेमिट्यान्समा वृद्धि भएको हुन सक्छ,’ काफ्लेले भने । रेमिट्यान्समा उल्लेख्य सुधार देखिँदा कामका लागि विदेसिनेको संख्या भने ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ३. ९ प्रतिशतले घटेको थियो ।

यस चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको अवधिमा ३ लाख १५ हजार युवाले अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा ३ लाख ३४ हजारले अन्तिम श्रम स्वीकृति लिएका थिए । संख्यात्मक रुपमा यो अवधिमा मलेसिया जाने नेपाली कामदारको संख्या सबैभन्दा उच्च छ । कामका लागि कुल बाहिरिएकामध्ये मलेसियामा ३१ प्रतिशत, कतारमा २८ प्रतिशत, दुबइमा १५ प्रतिशत गएका छन् । गत आवको यस अवधिमा कतार जानेको संख्या सबैभन्दा धेरै थियो ।

Womui
Womui