नेपाली अर्थतन्त्रको आकार ३० खर्ब, कुन प्रदेशको आर्थिक अवस्था कस्तो ?

84

मालती ओली
काठमाडौं, जेठ ३० । नेपाली अर्थतन्त्रको आकार ३० खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा प्रदेश अनुसारको आकारको प्रतिवेदन समेत सार्वजनिक गरेको छ ।

जस अनुसार ३ नम्बर प्रदेशको हिस्सा सबैभन्दा बढी ३१.९ प्रतिशत रहेको छ । कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.१ प्रतिशत छ । १ नम्बर प्रदेशको १७.५, २ नम्बर प्रदेशको १६.२, ४ नम्बर प्रदेशको १०.५, ५ नम्बर प्रदेशको १३.४ र ७ नम्बर प्रदेशको ६.२ प्रतिशत हिस्सा नेपालको अर्थतन्त्रमा देखिएको छ ।

यो वर्षदेखि नेपालीको औसत आय १ हजार ४ अमेरिकी डलर पुगेको छ । प्रदेशगत आधारमा ३ नम्बरमा बस्नेको आय देशको औसत आयभन्दा बढी रहेको छ । ३ नम्बरमा प्रदेशका बासिन्दाको औसत प्रतिव्यक्ति आय १ हजार ५ सय ३४ अमेरिकी डलर रहेको छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार २ नम्बर, ५ नम्बर, कर्णाली र ७ प्रदेशमा बस्नेको आय देशको औसत आयभन्दा कम छ । १ नम्बर, ३ नम्बर र ४ नम्बर प्रदेशमा बस्नेको आय देशको भन्दा बढी छ ।

१ नम्बर प्रदेशमा बस्नेको १ हजार २४ र ४ नम्बरमा बस्नेको १ हजार २१ अमेरिकी डलर औसत आय रहेको छ । यस्तै २ नम्बरको ७ सय ९९, ५ नम्बरको ८ सय ६८, कर्णालीको ६ सय ७७ र ७ नम्बरको ६ सय ६० अमेरिकी डलर औसत आय रहेको छ । प्रदेश अनुसार कृषि क्षेत्रको योगदान १ नम्बर प्रदेशमा सबैभन्दा बढी देखिन्छ । सबैभन्दा कम कर्णाली प्रदेशको रहेको छ । उद्योग र सेवा क्षेत्रमा सबैभन्दा बढी योगदान ३ नम्बर प्रदेशको रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशकोे छ । आर्थिक रुपले सक्रिय जनसंख्या सबैभन्दा बढी प्रदेश नम्बर १ मा ४३ प्रतिशत छ । सबैभन्दा कम २ प्रदेशमा ३१ प्रतिशत रहेको छ ।

 

Womui
Womui