ट्रम्प र किमबीचको शिखर वार्ता सकियो

34

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता सकिएको छ। । दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेको वार्ता ४५ मिनेटसम्म चलेको थियो । वार्तास्थलबाट सँगै निस्किएका उनीहरुमध्ये अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूबिच सौहार्दपूर्ण वार्ता भएको जानकारी गराए ।


‘मलाई एकदम खुसी लागिरहेको छ । हामीबीच सौहार्दपूर्ण वार्ता र छलफल भयो । मलाई विश्वास छ हामीबिचको सम्बन्ध गज्जबको हुनेछ, यसमा मलाई कुनै शंका छैन ।’परमाणु निरस्त्रीकरणबारे ट्रम्पले यसबारे सँगै काम गर्ने जानकारी दिए । सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग ऐतिहासिक एक्ला एक्लै वार्ता गरेका हुन् । सबैभन्दा पहिले आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एक, अर्काको पिठ्यूँमा धाप मारे ।

त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे । ‘हाम्रो सम्बन्ध गज्जबको हुनेछ, यसमा मलाई कुनै शंका छैन,’ किमसँग हात मिलाउँदै ट्रम्पले भने । त्यसपछि किम जोङ उनले अंग्रेजीमै भने, ‘राष्ट्रपति ज्यू, तपाईंसँग भेट्दा अत्यन्त खुसी छु ।’ यति भनिसकेपछि उनीहरू एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए ।

दुई नेताबीचको एक्ला एक्लै वार्ता सकिएपछि दुई पक्षका अधिकारीहरू कार्यसूची सहित दिवाभोजमा सहभागी हुँदैछन् । वरिष्ठ सल्लाहकार तथा अधिकारीहरू सहभागी हुनुपूर्व दुई नेताले एक्लाएक्लै वार्ता गरेका हुन् ।
दुई नेताबीच भएको यो प्रथम भेटलाई विश्व राजनीतिको ऐतिहासिक क्षण मानिएको छ । दुवै नेताबीचको निजी भेटघाट समाप्त भइसकेको छ । हाल दुवै नेता कन्फेरेन्स हलमा आआफ्नो टोलीसहित छलफल गरिरहेका छन् ।

Womui
Womui