नवौं कोरिया भाषा परीक्षा, स्वदेशमा रोजगारी पाए विदेश जान नपर्ने भनाइ

342

मालती ओली
काठमाडौं, जेठ २६ । नवौं कोरियन भाषा परीक्षाको केन्द्र शनिबार सुरु भएको छ । काठमाडौं, ललितपुर र पोखराका २८ केन्द्रमा दुई दिनसम्म परीक्षा हुने व्यवस्था मिलाइएको छ ।

सन् २०१९ मा रोजगारीका लागि कोरिया जाने गरी आव्हन गरिएको दरखास्तमा ८२ हजार दुई सय ३५ ले आवेदन दिएका छन् । सन् २०१९ का लागि कोरिया सरकारले नेपालका लागि सात हजार एक सय कोटा तोकेको छ । भाषा परीक्षामा सात हजार एक सयभित्र पर्ने मात्र कोरियाको रोजगारीमा जान पाउने छन् ।

मासिक न्यूनतम पारिश्रमिक एक लाख ५० हजार रुपैयाँ हाराहारी हुने भएकाले पछिल्लो समयमा कोरिया जान खोज्ने युवायुवतीको संख्या बढ्दो छ । यद्यपि भाषा परीक्षामा सहभागी हुँदै गरेका युवाले स्वदेशमा रोजगारी पाइए विदेश जाने रहर कसैलाई नहुने बताएका छन् । नवलपरासीका रमेश लम्सालले सरकारले रोजगारी पाएको भए विदेश जान नपर्ने बताए ।

स्वदेशमा रोजगारीमा रहेका र विश्वविद्यालय तहको अध्ययन सकेका समेत कोरिया जाने प्रयासमा रहेको पाइन्छ । इपिएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भाषा परीक्षा सञ्चालनका लागि ६४ जनाको कोरियन टोली नेपाल आइसकेको बताए । भाषा परीक्षा सञ्चालन गर्न कोरियन बाहेक करिब एक हजार जनाको नेपाली टोली पनि खटिनेछन् । भाषा परीक्षा सञ्चालन गर्न काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा केन्द्र तोकिएको छ । सन् २००७ मा इपिएस सुरु भएयता करिब ५३ हजार युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन् ।

Womui
Womui