नेपालगन्ज गोल्डकप : संकटा क्लब र रुपन्देहीबीच फाइनल प्रतिस्पर्धा हुने

126

नेपालगन्ज, जेठ २५-
तेस्रो टुबोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौंको संकटा क्लब र लाली रुपन्देही–११ भिड्ने भएका छन् । संकटाले बिहीबार सुदूरपश्चिम–११ लाई ट्राइबेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । रुपन्देहीले घरेलु टोली नेपालगन्ज–११ लाई ४–२ गोलले बुधबार पराजित गरेर फाईलमा प्रवेश गरेको थियो । संकटा गतवर्ष पनि फाइनलमा पुगेको थियो । यि दुबै टिमबीच शनिबार प्रतिस्पर्धा हुने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । दोस्रो संस्करणमा यी दुई टोली फाइनलमा पुगेका थिए, भने रुपन्देहीले बाजी मारेको थियो ।


बिहीबार खेलको सुरुवाती ६ मिनेटमै विजय सिंहको गोलले सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको तीन मिनेटमै एलोन म्याक्सवेलले गोल गरेर बराबरी गरेका थिए । ७० मिनेटमा पुनः म्याक्सवेलले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । त्यो अग्रता भने तीन मिनेटमै सुदूरपश्चिमले बराबरी गरेको थियो । सुदूरपश्चिमका चेतन कठायतले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुई/दुई गोल भएपछि खेलको निर्णय ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा संकटाका सरोज ढकाल, रोमन लिम्बु र भुवन सुब्बाले गोल गरेका थिए ।
सुदूरपश्चिमका चेतन थारुले मात्रै गोल गरेका थिए । सुरुवातमै नरेन्द्र चौधरीले बाहिर हानेका थिए । विजय सिंह र योगेन्द्र चौधरीको प्रहार संकटाका किपर दिनेश थापाले रोकेका थिए । सुदूरपश्चिमका व्यवस्थापक सुरेश हमालले आफ्ना रक्षापंक्तिका खेलाडी घाइते हुँदा निर्धारित समयमा बराबरीमा टुंगिएको बताए । उनले प्रशिक्षक बिना नै आफ्ना खेलाडीले राम्रो खेलेको बताए । संकटाका प्रशिक्षक जुजुकाजी डंंगोलले गर्मीका बावजुद टीमले राम्रो खेलेको बताए । कप्तान सरोज दाहालले स्वभाविक खेल खेल्न नसकेको बताए । टीम पनि सेट नभई ल्याएको बताए । उनले फाइनलमा राम्रो गर्ने बताए ।
सुरुमा गर्मी र रक्षापंक्तिको तालमेल नहुँदा गोल खाएको बताए । संकटाले फेरि एक पटक सुदूरपश्चिमलाई घर फर्काएको छ । दोस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकपमा पनि संकटाले सुदूरपश्चिमलाई सेमिफाइनलमा पराजित गरेको थियो । खेलको म्यान अफ म्याच शान्त गुरुंग भएका छन् । उनले नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको हातबाट मोबाइल पाएका छन् । पाँच लाख पुरस्कारको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताकाको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पाउनेछन् ।

Womui
Womui