नरैनापुर गाउँपालिकाले ल्यायो दमकल

153

नेपालगन्ज, जेठ २५-
बाँकेको नरैनापुर गाउँपालिकाले बारुणयन्त्र (दमकल) खरिद गरेको छ । राप्तीपारि क्षेत्रमा हुने आगलागी नियन्त्रण गरी क्षति न्युनिकरण गर्ने उद्देश्यले ५१ लाख रुपैयाँमा दमकल खरिद गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद इस्माइल खाँले बताए । राप्तिपारि क्षेत्रमा आगलागी हुँदा यसअघि नेपालगन्जबाट दमकल पुग्दासम्म गाउँ नै खरानी भइसक्ने अवस्था अब हट्ने भन्दै नरैनापुरबासी खुसी भएका छन् ।

‘अध्यक्ष ज्यूले निर्वाचित भएर आएदेखि यहाँ धेरै सुधारको पहल गरिरहनु भएको छ, आगलागीको निकै जोखिम रहेको यो क्षेत्रमा दमकल ल्याएर राम्रो काम भएको छ,’ कट्कुईयाका सहाजद अलि जोलाहले भने । आगलागीबाट हुने गरेको अनियिन्त्रत क्षति नियन्त्रण गर्न गाउँपालिकाले दमकल खरिद गरेको अध्यक्ष इस्तियाक अहमद साहले बताए । जनप्रतिनिधि आएपछि सुधारका संकेतहरु देख्न थालेका स्थानीय गाउँमै दमकल पुगेपछि हर्षित भएका छन् । नेपालगन्जबाट झण्डै ४५ किलोमिटरको दुरीमा रहेको नरैनापुरमा गर्मीयाममा आगलागी हुँदा बस्ती नै सखाप हुने गरेका छन् ।

Womui
Womui