नागरिक अभिनन्दनको तयारीमा तात्तियो प्रेस युनियन

133

नागरिक अभिनन्दन सफल पार्न कुनै कसर बाँकी नराखिने

नेपालगन्ज, जेठ २४-
प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’को नागरिक अभिनन्दन सफल पार्न नेपाल प्रेस युनियन बाँकेले बिहीबार बृहत भेला सम्पन्न गरेको छ । युनियनको अगुवाईमा यही जेठ २९ गते नेपालगन्जमा चाचाजीको नागरिक अभिनन्दन हुदैछ । नेपालगन्जमा बिहीबार आयोजित उक्त भेलामा उपस्थित युनियनका सदस्यहरुले चाचाजीको नागरिक अभिनन्दनलाई भब्य रुपमा सम्पन्न गर्नुपर्ने सुझाव दिए ।

नेपाल प्रेस युनियनका उपमहासचिव प्रेम केसीले पत्रकारिताका साथै प्रजातन्त्र स्थापना र सामाजिक काममा चाचाजीले गरेको योगदानको जति प्रशंसा गरेपनि कम हुने बताए । ‘चाचाजीले पञ्चायतकाल जस्तो कठिन परिस्थितीमा पनि पत्रकारिता गरेर नागरिकलाई सुसुचित गराउनुभयो, प्रजातन्त्र ल्याउनमा उहाँ जेल समेत जानुभयो, अर्को कुरा उहाँ जेष्ठ नागरिक पनि भएको नाताले नागरिक अभिनन्दन गर्न पाउनु नेपालगन्जबासीका लागि भाग्यको कुरा हो,’ केसीले भने ।

प्रेस युनियन रेडियो नेपाल शाखाका अध्यक्ष सन्तोष रेग्मीले चाचाजी पत्रकारिताको ईतिहास भएको र नेपालगन्जका लागि धरोहर भएको बताउँदै उनको नागरिक अभिनन्दनमा सबै सहभागी हुनुपर्नेमा जोड दिए । ‘८९ वर्षको उमेर सम्म पनि उहाँ हामी जतिकै समाचार रिपोर्टिङ गरिरहनु भएको छ, उहाँको जोश, जाँगर देख्दा नयाँ पिढींलाई पनि उत्साह जाग्दछ,’ रेग्मीले भने । चाचाजीको नागरिक अभिनन्दनलाई भव्य बनाउन सम्पुर्ण पत्रकार, विभिन्न संस्था तथा पेशागत संघ, संगठन एवम् नेपालगन्जबासीको उल्लेख्य सहभागिता हुनुपर्ने बताए ।

युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले नागरिक अभिनन्दन कार्यक्रमलाई सफल पार्न थप तिब्रताका साथ तयारीमा जुट्न युनियनका सम्पुर्ण सदस्यलाई निर्देशन दिए । अहिलेसम्म भएको तयारीबारे जानकारी दिदै अध्यक्ष शाहले तयारीका लागि कुनै कसर बाँकी नराख्न आग्रह गरे । नागरिक अभिनन्दनका लागि पत्रकारका विभिन्न संघ संगठन तथा अन्य संस्थाका प्रतिनिधिले ऐक्यवद्धता जनाईसकेको र अझ थप तिव्रताका साथ छलफल गरेर तयारी अगाडी बढाईने उनले जानकारी दिए ।

Womui
Womui