नौ अर्ब रुपैयाँको सेयर निष्कासन हुँदै, यी हुन् एफपिओ निष्कासनको अन्तिम तयारीमा रहेका बैंक

126

छिनछिन खबर
काठमाडौं, जेठ २० । सेयर बजार ओरालो लाग्दै गइरहेको बेला दुई ठूला बैंकले करिब नौ अर्ब रुपैयाँ बराबरको सेयर बिक्री गर्दैछन् ।
सेयर बजार निरन्तर ओरालो लाग्दै गइरहेको बेला राष्ट्र बैंकले तोकेको पुँजी वृद्धि गर्न एनएमबी बैंक र नेपाल बैंक लिमिटेडले सेयर जारी गर्ने तयारी गरेका हुन् । ती दुबै बैंकले जारी गर्न थालेको सेयर एफपिओ हो । एनएमबी बैंक्ले धितोपत्र बोर्डबाट तीन अर्ब ८० करोड रुपैयाँ बराबरको एक करोड १४ लाख कित्ता नयाँ साधारण सेयर ( एफपिओ) बिक्री गर्न स्वीकृति पाएको छ ।

एनएमबीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपिओ बिक्री गर्न स्वीकृति पाएको हो । बैंकले अब केही दिन भित्रमै विवरणपत्र सार्वजनिक गरी एफपिओ बिक्रीमा ल्याउने छ ।त्यसैगरी नेपाल बैंकले पनि एक करोड ७६ लाख कित्ता एफपिओ बिक्रीको स्वीकृति पाउन सबै प्रक्रिया पुरा गरी धितोपत्र बोर्डमा निबेदन दिएको छ । उसले प्रतिकित्ता २८० रुपैयाँको दरले एफपिओ बिक्री गर्न स्वीकृति मागेको छ ।

चार अर्ब ९४ करोड रुपैयाँ बराबरको एफपिओ बिक्री गर्न ढिलोमा असार महिनाको सुरुवातमै विवरण पत्र प्रकाशित गर्ने तयारीमा नेपाल बैंक रहेको छ । एनएमबी र नेपाल बैंकले गरी आठ अर्ब ७५ करोड रुपैयाँ सर्वसाधारण लगानीकर्ताबाट यी दुई बैंकले संकलन गरेर आफ्नो कोषमा जम्मा गर्ने छन् ।

धेरै ठूला कित्ता सेयर बिक्रीमा आएर बजारमा आपुर्ति बढाउने हुँदा दोस्रो बजारमा यी कम्पनीका सेयर मूल्य भने प्रभावित हुने देखिएको छ ।

Womui
Womui