एसएसपी श्याम खत्रीविरुद्ध इन्टरपोलको वारेन्ट

174

छिनछिन खबर
काठमाडौं, जेठ १७ । ३८ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपी प्रहरीका एसएसपी श्याम खत्रीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले वारेन्ट जारी गरेको छ । निलम्बनमा रहेका खत्री फरार रहेपछि इन्टरपोलले वारेन्ट जारी गरेको हो । खत्रीविरुद्ध नेपाल प्रहरीको सिफारिसमा डिफ्युजन नोटिस जारी भएको हो ।

खत्रीसहित सुन तस्करीका नाइके भनिएका एमके भनिने मोहनकुमार अग्रवाल र रमेश उप्रेती विरुद्ध पनि वारेन्ट जारी भएको छ । उनीहरु अब जुनसुकै देशमा भए पनि त्यहाँबाट पक्राउ गरेर नेपाल ल्याउन प्रहरीलाई सहज भएको छ । उनीहरुको राहादानी नम्बरसहितको विवरण इन्टरपोलले विश्वभर पठाएको छ । अब उनीहरु अन्य देशमा लुकेको अवस्थामा सहजै पक्राउ पर्नेछन् ।

हालसम्मको अनुसन्धानमा अग्रवाल सुन तस्करीका मुख्य लगानीकर्ता भएको खुलेको छ । उनी २०७० सालमा पनि ३५ किलो सुनसहित पक्राउ परेका थिए । त्यस्तै, उप्रेती तस्करी समूहका मुख्य व्यक्तिमध्ये चुडामणि उप्रेती ‘गोरे’ आफन्त हुन् । उनी दुबईमा बसेर नेपालमा सुन पठाउने गर्छन् ।

एसएसपी खत्री सुन तस्करीको छानबिन सुरु भएलगत्तै फरार भएका थिए । खत्री विमानस्थलमा कार्यरत रहँदा उनले आफ्नै कार्यकक्षमार्फत सुन पास गराउने गरेको अनुसन्धानबाट खुलेको छ । उनी डेढ वर्षअघि पनि सुन तस्करीमा पक्राउ परेका थिए । सो प्रकरणमा पक्राउ परेका ६ प्रहरी अधिकारीसहित २९ जना पुर्पक्षका लागि जेलमा छन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको बिशेष छानबिन समितिले अनुसन्धान गरिरहेको छ ।

Womui
Womui