प्रदेश स्तरीय प्रथम उपराष्ट्रपति कप नेपालगन्जमा हुदै

38

नेपालगन्ज, जेठ ६-
पाँच नम्बर प्रदेश स्तरीय प्रथम उपराष्ट्रपति कप ‘चिल्ड्रेन गेम्स’ प्रतियोगिता नेपालगन्जमा सोमबारबाट सञ्चालन हुने भएको छ । नेपालगन्ज रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगितामा प्रदेश पाँचका १२ वटै जिल्लाका कुल ३ सय ३६ जना खेलाडी तथा ६० जना अफिसियल सहभागी हुने आयोजक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले जनाएको छ ।

समितिले आइतबार पत्रकार सम्मेलन गरेर उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजकले जानकारी दियो । समितिका अध्यक्ष भिम ओलीले प्रदेश नम्बर पाँचबाट छनौट भएका विजेता/उपविजेताले यही जेठ १० र ११ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय स्तरको उपराष्ट्रपति चिल्ड्रेन गेम्समा सहभागिता जनाउन पाउने बताए । उक्त प्रतियोगितामा एथलेटिक्स, लङजम्प, ट्रिपलजम्प, सटपुट, कराते, उसु, तेक्वान्दो लगायतका खेलहरु समाविष्ट गरिएको प्रचार–प्रसार उपसमितिका संयोजक एवम् क्षेत्रीय उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।

प्रतियोगितामा कक्षा ६, ७ र ८ मा अध्यनरत १४ बर्षसम्मका बिद्यार्थीले सहभागिता जनाउने थापाले बताए । मुलुकको सात वटै प्रदेशबाट छनोट भएका खेलाडीले काठमाडौंमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न १७ लाख ४० हजार रूपैयाँ लाग्ने समितिले जनाएको छ ।

Womui
Womui