अनौपचारिक शिक्षा प्रणालीको संयन्त्र र अभिलेख हस्तान्तरण

31

नेपालगन्ज, जेठ ६-
अनौपचारिक शिक्षा प्रणालीको संयन्त्र तथा हालसम्मका सबै अभिलेख स्थानीय सरकारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्रले देशमै पहिलो पटक नेपालगन्जमा एक औपचारिक कार्यक्रमका बीच बाँकेका ८ वटै स्थानीय सरकारलाई अनौपचारिक शिक्षा प्रणालीको संयन्त्र तथा अभिलेख हस्तान्तरण गर्न सुरु गरेको हो ।

बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जमा आयोजना गरिएको हस्तान्तरण समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चुडामणी शर्माले बाँकेका ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई संयन्त्र र अभिलेख हस्तान्तरण गरे । सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगर, बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल, जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बि.क, डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानु, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री र कोहलपुर नगरपालिकाका वडाअध्यक्षलाई संयन्त्र र अभिलेख हस्तान्तरण गरियो ।

अनौपचारिक शिक्षा प्रणालीको संयन्त्र तथा अभिलेख हस्तान्तरण गर्दै मन्त्रालयका सचिव बरालले ७० बर्षदेखि अनौपचारिक शिक्षा केन्द्रले संचालन गर्दै आएको साक्षर बनाउने अभियानलाई अब स्थानीय सरकारले निरन्तरता दिनुपर्ने बताए । उनले देशका ७७ जिल्ला मध्ये ४७ वटा जिल्ला मात्र हालसम्म साक्षर जिल्ला घोषणा भएको र ११ वटा जिल्लालाई यस बर्ष साक्षर घोषणा गरिने जनाउँदै अब बाँकेले पनि छिटै आफुलाई साक्षर घोषणा गर्नुपर्ने बताए ।
हालसम्म अनौपचारिक शिक्षाले गर्दै आएको सबै काम अबदेखि स्थानीय सरकारले नै गर्नु पर्ने जनाउँदै अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चुडामणी शर्माले सोही बारेमा जानकारी गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए । उनले हस्तान्तरण अभियानलाई बाँकेबाटै सुरुवात गरिएको जनाउँदै अब देशभरीकै स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताए ।

सो अवसरमा उपस्थित बाँकेका अधिकांश स्थानीय सरकारका प्रमुख र उपप्रमुखले अनौपचारिक शिक्षाको अभियान र कार्यलाई स्थानीय तहले अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । सो कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले स्थानीय सरकारको जिम्मामा धेरै काम आएकोले सबै कामलाई पुरा गर्न र राम्ररी बुझ्न अझै केही समय लाग्ने बताए । सो अवसरमा अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक शिवकुमार सापकोटा, बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापा, निमित्त प्रमुख जिल्ला अधिकारी गणेश शाही लगायतले साक्षरता अभियानलाई तिव्रताका साथ अगाडी बढाउनु पर्नेमा जोड दिए ।

Womui
Womui