‘मौसम-मौसममा चोला बदल्ने कम्युनिष्टको चरित्र हो’ : वरिष्ठ नेता पौडेल

103

नेपालगन्ज, जेठ ५-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतलाई समिक्षा गरेर नयाँ रणनीतिका साथ पार्टीलाई अगाडी बढाउन सकेमा मुलुकभित्र रहेका सबै कम्युनिष्ट एक भएपनि कांग्रेसलाई हराउन नसक्ने ठोकुवा गरेका छन् । ‘विगतका कमजोरीलाई केलाएर अब त्यस्ता गलत कार्यहरु नगर्ने गरी पार्टीलाई जोगाउने काम हामीले गर्नुपर्छ,’ उनले भने ।
कांग्रेस बाँकेका अगुवा नेता, कार्यकर्तालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै पौडेलले भने, ‘नेपाली कांग्रेसलाई किसान र श्रमिकको साथी बनाउने हो, पार्टीका साथीहरुले मेहेनत गर्नुपर्यो जनताको स्वार्थसँग आफुलाई गाँस्नुपर्यो, पार्टीभित्र पनि न्यायनिसाप हुनुपर्यो र अनुशासन हुनुपर्यो ।’

नेपाली कांग्रेसको सुदृढीकरण अभियानको सुरुवात आफुले मुलुककै विकट कर्णाली प्रदेशबाट सुरु गरेको पौडेलले जानकारी दिए । जनताले सिद्धान्त भन्दापनि आफ्ना अगाडी देखा पर्ने नेताको क्रियाकलापको मुल्यांकन गर्ने भएकाले जनताको माझमा जानुको विकल्प नभएको पौडेलको भनाई छ । यसका लागि कांग्रेसका नेता, कार्यकर्ताले आफ्नो चरित्र, आचरण, व्यवहार, कार्यशैली, र क्रियाकलाप गर्नुपर्ने उनले सुझाव दिए ।

अर्को प्रसंगमा कांग्रेस वरिष्ठ नेता पौडेलले नवगठित नेपाल कम्युनिष्ट पार्टीको कुनै भरोसा नभएको आरोप लगाए । कम्युनिष्टहरुले पटक-पटक सिद्धान्त, नाम र अनुहार फेरबदल गर्ने भएकाले जनतालाई धोका दिने ठोकुवा गरे । ‘मौसम-मौसममा चोला बदल्ने कम्युनिष्टको चरित्र हो,’ पौडेलले भने ‘हिजो सम्म एमाले पार्टी बहुदलिय जनवाद भन्दै कुर्लिएर हिड्थ्यो, माओबादीले पनि माओबाद, प्रचण्डपथ भन्दै हिड्थ्यो, आज बहुदलिय जनवाद, प्रचण्डपथ, माओबाद बिर्सजन गरेर एउटै कम्युनिष्ट पार्टी बनेका छन्, एक/दुई वर्षपछि यिनीहरुलाई यही नाम घाडो हुनेछ ।’

नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईरालाको सभापतित्वमा सम्पन्न अगुवा कार्यकर्ता भेलामा केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री हृदयराम थानी, कांग्रेस बाँकेका पुर्वसभापतिहरु, सांसदहरु, पुर्व सांसद, स्थानीय तहका जनप्रतिनिधि, नेता, कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो । यसैबीच कांग्रेस वरिष्ठ नेता पौडेलले शनिबार नै नेपाल तरुण दल बाँकेको प्रशिक्षण कार्यक्रम कोहलपुरमा उद्घाटन गरेका छन् ।

Womui
Womui