भेरी–बबईमा डाइभर्सनमा विनियोजन भन्दा ६ गुणा बढी खर्च, यसरी भयो सम्भव

28

छिनछिन खबर
बर्दिया, जेठ ५ । विनियोजित बजेट खर्च हुन नसक्ने अधिकांश आयोजनाको वर्षौंदेखिको समस्या हो । तर, चालु आर्थिक वर्षमा एउटा त्यस्तो आयोजना देखा परेको छ । जुन आयोजनाले विनियोजित बजेट भन्दा अहिलेसम्म चार गुणा बढी रकम खर्च गरिसकेको छ । र, सोही आयोजनाले चाुल आर्थिक वर्षको समाप्तीसम्म ६ गुणा बढी रकम खर्च गर्ने गरी कामलाई निरन्तरता दिइरहेको छ । विनियोजित बजेट भन्दा ठूलो रकम खर्च गर्ने आयोजना भेरी–बबई डाइभर्सन हो ।

सिँचाइ र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको उक्त आयोजनामा हालसम्म तीन अर्ब रुपैयाँ खर्च भइसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले बताए । ‘उक्त आयोजनामा चालु आर्थिक वर्षको अन्त्यसम्म चार अर्ब रुपैयाँ खर्च हुने गरी काम भइरहेको छ,’ उनले भने । विनियोजित बजेट भन्दा निकै बढी रकम खर्च गर्ने उक्त आयोजना थोरैमध्ये एक रहेको बताइएको छ । चाुल आर्थिक वर्षमा त्यस आयोजनाका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

भेरी–बबई डाइभर्सनमा पहिलो पटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर सुरुङ खन्ने काम जारी छ । तिवारीले टिबिएमद्वारा दैनिक २०–२५ मिटर सुरुङ खनिरहेको जानकारी दिए । भेरी नदीको पानीलाई सुर्खेतको भेरीगंगा–९ चिप्लेदेखि १२ किलोमिटर सुरुङ खनेर बर्दियाको बबईमा झारेर सिँचाइ र विद्युत् निकाल्ने योजना बनाइएको छ ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि अमेरिकन रोबिन्स कम्पनीले निर्माण गरेको टिबिएम चीनबाट ल्याइएको थियो । उक्त आयोजनाको निर्माण जिम्मा चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ गु्रप (कोभेक) ले पाएको छ । सन् २०२० सम्म काम सक्ने लक्ष्य लिइएको आयोजनाबाट बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउनुको साथै ४८ मेगावाट विद्युत् निकालिने छ ।

तिवारीले हालसम्म तीन किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको बताए । उक्त आयोजनालाई सक्न मन्त्रालयले १६ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटमध्ये १२ अर्ब रुपैयाँजति सुरुङ खन्न र बाँकी रकम नहर लगायतका काममा खर्च गर्ने योजना बनाइएको छ । सहसचिव तिवारीले दुई वर्षमा भेरी–बबई डाइभर्सनमा सुरुङ खन्ने काम सकिने बताए ।

Womui
Womui