ठक्कर दिने चालकको लाइसेन्स खारेज हुने

111

कोहलपुर, जेठ ४-
मोटर साईकललाई ठक्कर दिने गाडी चालकको लाइसेन्स खारेज हुने भएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालयमा पहल गर्ने भएको छ । बुधबार साँझ कोहलपुर-नेपालगन्ज सडक खण्डको रामनगरमा भे १ ज ६५५ नम्बरको हायसले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ऋषी शर्मा चापागाईको मृत्यु भएको थियो ।

चापागाई कोहलपुर मोडेल कलेजलगायत विभिन्न कलेजका प्राध्यापक थिए । उनको निधनपछि विभिन्न कलेजका बिद्यार्थी, स्थानीयबासी तथा आफन्तले दुई दिनसम्म यातायात अवरुद्ध गरेर आन्दोलन गरेका थिए । आन्दोलनको नेतृत्व संयुक्त विद्यार्थी संगठनले गरेको थियो । शुक्रबार बिहान पनि कोहलपुरमा आन्दोलन चर्किएको थियो । चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने लगायतका मागहरु राखेर आन्दोलनकारीले सडक अबरुद्ध गरेका थिए ।

पछि प्रहरी परिचालन गरी प्रशासनले केही आन्दोलनकारी शिक्षक, बिद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि पीडित पक्ष, आन्दोलनकारी र प्रशासनबीच भएको बार्तामा ठक्कर दिने चालकको अनुमति पत्र खारेज गर्दै हदैसम्मको कारबाहीको प्रतिबद्धता जनाइएपछि आन्दोलन स्थगित भएको थियो । हायस चालक भने फरार छन् । तर, सवारी साधनलाई भने प्रहरीले नियन्त्रणमा राखेको छ ।

Womui
Womui