उपमहानगरको दोस्रो नगर सभामा तीन विधेयक स्वीकृत

40

नेपालगन्ज, जेठ ४-
नेपालगन्ज उपमहानगरपालिकाले तीन वटा महत्वपूर्ण विधेयक स्वीकृत गरेको छ । नगर भवनमा शुक्रबार सम्पन्न दोस्रो नगर सभाले विधेयकसहित बजेट, योजना तथा कार्यक्रम रकमान्तर तथा संशोधन गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० र २१ बमोजिम प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र कृषि व्यवसाय प्रवद्धन विधेयक, २०७५ लगायत ७ वटा महत्वपूर्ण निर्णय नगर सभाले स्वीकृत गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ को प्रथम नगरसभाबाट स्वीकृत बजेट, योजना तथा कार्यक्रममध्ये जेठ ३ नगर कार्यपालिकाको बैठकबाट निर्णय भएअनुसार उपमहानगरपालिकाको विनियोजन ऐन २०७४ को दफा ३ को उपदफा २ बमोजिम बजेट, योजना तथा कार्यक्रम रकमान्तर तथा संशोधन गरिएको छ । यस्तै नगर सभा सदस्यको सेवा सुविधाबारे पनि नगर सभाले पहलकदमी लिने निर्णयसहितको तयारी गरेको छ । नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यको सेवा, सुविधा सम्बन्धमा ५ नम्बर प्रदेशबाट विधेयक स्वीकृत भएको खण्डमा सोही बमोजिम हुने र पारित नभएको खण्डमा उपमहानगरपालिकाको आन्तरिक श्रोतबाट व्यवस्थापन गर्न नगरसभा सदस्यहरुको सेवा, सुविधा, मापदण्ड सम्बन्धी कार्यविधि तयार गरिने भएको हो ।

सो का लागि नगर उपप्रमुख उमा थापाको संयोजकत्वमा वरिष्ठ आन्तरिक लेखा परिक्षक अधिकृत खिमानन्द अर्याल सदस्य सचिव रहने गरि ९ सदस्यीय समिति निर्माण गरिएको छ । समितिको प्रतिवेदनलाई जेठ मसान्तभित्र नगरकार्यपालिकाबाट निर्णय गराई कार्यान्वयन गर्ने समेत निर्णय गरिएको छ । समितिीको सदस्यमा वडा अध्यक्ष प्रमोद रिजाल, बुद्धिसागर सुवेदी, नगरकार्यपालिका सदस्य कौशल धोवी, वडा सदस्य बसन्ता जोशी, धु्रब दाहाल, ओम प्रकाश चौहान र दिनेश पन्त रहेका छन् ।

प्रथम नगरसभाले आर्थिक ऐन २०७४ मा बैशाख मसान्तसम्म बक्यौता करसहित चालु आर्थिक वर्षको व्यवसाय कर बुझाउनेलाई ५० प्रतिशत छुट दिइएकोमा फेरीपनि एक हप्ता समय थप गर्ने, गाउँ नगर साझेदारी विकास कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाद्धारा सर्वसाधारणमा लगानी भएको सावाँ रकम र सो को तोकिएको व्याज लामो समय सम्म असुल उपर गर्न नसकिएकाले साउन मसान्तभित्र सावाँ रकम बुझाउन आएमा नियम अनुसार लिनुपर्ने सबै व्याज मिनाहा गर्ने निर्णय गरेको छ ।

Womui
Womui