सविना महर्जन भइन् जापानमा बेपत्ता, कहाँ गइन् होला उनी ?

140

मालती ओली
काठमाडौं, जेठ  ४। ललितपुरको दमकल चोकपुल निवासी सविना महर्जन जापानमा १० वर्षदेखि हराइरहेकी छिन् । जापनीज भाषा सिक्नका लागि २०६५ वैशाख ११ मा १९ वर्षीया सविना जापानको फुकुओका गएकी थिइन् । जापान पुगेको १७ महिनासम्म परिवारको सम्पर्कमा रहेकी सविना त्यसपछि सम्पर्कविहीन भएको पिता सानुलालले बताए ।

दुई वर्षपछि घर फर्कंने भनिरहेकी सविना जापानमा हराएको एक्कासी खबर पाएपछि निराश भएको महर्जन परिवारमा १० वर्ष बितिसक्दा पनि खुशी फर्कंन सकेको छैन । सविनाको खोजीका लागि महर्जन परिवारले सरोकार राख्ने सबै निकायमा खोजी गरे पनि अहिलेसम्म कुनै पत्तो लगाउन सकेको छैन । ‘छोरीको खोजीका लागि पटकपटक परराष्ट्र मन्त्रालयदेखि जापानस्थित नेपाली राजदूतावास र जापानको प्रहरीसमक्ष निवेदन दिइसकेको छु,’ सानुलालले भने, ‘अहिलेसम्म छोरीको अवस्था के भन्नेबारे कुनै जानकारी पाउन सकिएको छैन ।’

जापानमा सानो अपराध हुँदासमेत प्रहरीले वास्तविकता पत्ता लगाएर छोड्छ भन्ने चर्चा सुनेका ६९ वर्षीय सानुलालले आफ्नी छोरीको घटना भने किन लुकिरहेको छ भनेर हरेकलाई प्रश्न गरिरहेका हुन्छन् । ‘जापानमा तीव्र गतिमा सवारी चलायो भने पनि प्रहरीले थाहा पाउँछ भन्ने सुन्दै आएको छु,’ उनले भने, ‘तर, मेरी छोरी हराएको १० वर्ष बितिसक्दा प्रहरीले केही थाहा पाउँदैन ।’ २०६५ वैशाख ११ गते (सन् २००८ अप्रिल १३) जापानको फुकुओकामा भाषा सिक्नका लागि उडेकी सविनाले सन् २००९, अगस्ट २६ सम्म परिवारसँग फोनमा सम्पर्क गरेको सानुलालले बताए ।

उनले जापानमा भाषा सिक्नुको साथै एउटा पसलमा कामसमेत गरिरहेकी थिइन् । जुन पसलमा काम गर्दा उनको मासिक पारिश्रमिक एक लाख २५ हजार रुपैयाँ भन्दा बढी रहेको सानुलालले बताए । ‘छोरीको पढाइ र कमाइ हेर्दा सबै अवस्था ठिकठाक नै थियो,’ उनले भने, ‘तर, एक्कासी सन् २००९ अगस्तको ३१ मा जापानबाट धर्मराज अधिकारीले सविना कलेजमा नआएको जानकारी दिए ।’ उनै अधिकारीले नै सविनासहित अन्य १५ विद्यार्थीलाई जापान पु¥याएका थिए । सँगै जापान उडेका विद्यार्थी विभिन्न स्थानमा बाँडिएका थिए भने सविना फुकुओकामै कोठा लिएर एक्लै बसिरहेकी थिइन् ।

‘छोरी हराएको खबर पाएपछि तुरुन्तै खोजतलास गर्न थालेको हुँ,’ सानुलालले भने, ‘न छोरीको हत्या भएको देखिन्छ । न कहाँ छे भन्ने नै पत्ता लाग्छ ।’

Womui
Womui