यसरी व्यवसायी बाध्य भए किसानलाई उखुको मूल्य तिर्न

146

छिनछिन खबर
काठमाडौं, जेठ ४ ।लामो समयसम्म किसानलाई उखुको मूल्य नतिरेर अलपत्र पार्ने व्यवसायीले बल्ल पैसा तिर्न थालेका छन् ।
सरकारले उखु किसानको भुक्तानी नगर्ने इस्टर्न सुगर मिलका वित्त प्रबन्धक वृजमोहन गुप्तालाई पक्राउ परेपछि व्यवसायीले उधारो उखुको पैसा भुक्तानी गर्न सुरु गरेका हुन् ।उक्त मिलका सञ्चालकले किसानको भुक्तानी सुरु गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । इस्र्टन सुगर मिलले उखु किसानलाई ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

चैत १० गते कृषि, उद्योग मन्त्रालय, उखु किसानका प्रतिनिधि र चिनी मिल सञ्चालकसहितको बैठकमा चिनी उद्योगीले भुक्तानी सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । तर भुक्तानी सुरु गरेका थिएनन् । त्यसपछि सरकारले किसान ठग्न खोजेको भन्दै पक्राउ गर्न सुरु गरेको हो ।उद्योग मन्त्रालयले इस्र्टन सहित श्रीराम सुगर मिल, अन्नपूर्ण र इन्दिरा सुगर मिल सञ्चालकले किसानको भुक्तानी नदिएकाले पक्राउ गर्न गृह मन्त्रालयलाई परिपत्र गरिसकेको छ ।

 

भुक्तानी नगर्ने अन्य चिनी मिल सञ्चालकलाई पनि पक्राउ गरिने मन्त्रालयले जनाएको छ । कतिपय चिनी मिल सञ्चालक केही समयदेखि सम्पर्कमै नभएकाले उनीहरूको पनि खोजीभइरहेकोमन्त्रालयले जनाएको छ । उद्योेग मन्त्रालयले समयमै किसानको भुक्तानी नगर्ने चिनी मिल सञ्चालकविरुद्ध ठगी मुद्दाको प्रक्रिया अघि बढाएको छ ।मुलुकभर सञ्चालनमा रहेका एक दर्जन चिनी मिलले किसानलाई साढे नौ अर्ब रुपैया भुक्तानी गर्न बाँकी छ ।

कतिपय चिनी मिलले भुक्तानी दिन सुरु गरिसकेका छन् । महोत्तरीको एभरेस्ट सुगर मिलले एक अर्ब ४० करोड, सर्लाहीको इन्दुशंकर सुगर मिलले एक अर्ब ३० करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ । त्यसैगरी, बाराका रिलारन्सले एक अर्ब र श्रीराम सुगरले ६८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सर्लाहीको अन्नपूर्ण चिनी मिलले ३० देखि ३५ करोड तिर्न बाँकी छ ।

अन्नपूर्णको बाँकीमध्ये २३ करोड रुपैयाँ ३–४ वर्ष अघिकै हो । चिनी मिलहरूले किसानबाट उधारोमा उखु किनेर लामो समयसम्म भुक्तानी नगर्दा किसान मर्कामा परेका छन् ।गत वर्ष नेपालमा एक लाख ३० हजार टन चिनी उत्पादन भएको थियो । यस वर्ष बढेर एक लाख ७० हजार टन पुग्ने अनुमान गरिएको छ । मुलुकमा १२ वटा चिनी उत्पादन मिल सञ्चालनमा छन् । देशभरिमा ८० हजार नौ सय ३१ हेक्टरमा जमिनमा उखु खेती छ । उक्त जमिनबाट वार्षिक ३१ लाख टन उखु उत्पादन हुन्छ । उखु खेतीमा झन्डै तीन खर्ब रुपैयाँ बराबर लगानी छ । यस क्षेत्रमा लाख हाराहारी किसान संलग्न छन् ।

Womui
Womui