मलेसिया र साउदी जाने कामदार बढी जोखिममा, यस्तो छ कारण

253

मालती ओली
काठमाडौं,जेठ ३ । नेपालले खुला गरेका गन्तव्य मुलुकमध्ये साउदी अरेबिया र मलेसियाका रोजगारदाता कम्पनी बढी जोखिमपूर्ण हुने गरेको पाइएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु तथा अंगभंग हुने संख्याको आधारमा ती मुलुक सर्वाधिक जोखिम देखिएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको वैदेशिक रोजगारीका लागि श्रम आप्रवासन सम्बन्धि नेपालको स्थिति प्रतिवेदनमा जोखिमपूर्ण गन्तव्यमा मलेसिया र साउदी अग्रस्थानमा रहेको देखाइएको छ ।

वैदेशिक रोजगारीमा रहेका कामदारमध्ये सबभन्दा बढी मलेसियामा रहेकाले त्यहाँ ठूलो संख्याका कामदार जोखिममा पर्नुलाई स्वभाविक ठानिए पनि साउदीमा समस्या बढ्नुलाई भने त्यो मुलुक खराब गन्तव्यमा रुपान्तरण हुँदै गएको निष्कर्ष निकालिएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०६५÷६६ देखि २०७४÷७५ सम्म श्रम स्वीकृति लिएकामध्ये करिब ३० प्रतिशत मलेसिया गएका छन् । कामदारको दोस्रो गन्तव्य कतार छ ।

जहाँ हालसम्म श्रम स्वीकृति लिनेमध्ये २२ प्रतिशत कामदार गएका छन् । कतारपछि नेपाली कामदारको तेस्रो गन्तव्य साउदी रहेको छ । हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका करिब ४४ लाखमध्ये २० प्रतिशतको हाराहारीमा साउदी गएको विभागले जनाएको छ ।कामदारको छनोटको दृष्टिकोणले साउदी तेस्रो गन्तव्यमा रहे पनि कामदार पीडित हुनेमा भने उक्त राष्ट्र अग्रस्थानमा छ ।

२०६५ यता रोजगारीको क्रममा घाइते तथा अंगभंग भएका आठ सय १७ मध्ये मलेसियामा पीडित हुनेको संख्या तीन सय ७३ छ भने साउदीमा एक सय ७३ जना घाइते र अंगभंग भएका छन् । साउदीभन्दा धेरै कामदार पुगेको कतारमा अंगभंग र घाइते हुनेको संख्या एक सय ३२ छ । घाइते र अंगभंग भएकामध्ये ७० प्रतिशतभन्दा बढी काम गर्ने क्रममा पीडित भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

मलेसिया र साउदीमा अंगभंग तथा घाइते हुनेको संख्या मात्र सर्वाधिक नभई मृत्यु हुनेको संख्या पनि अन्य गन्तव्यभन्दा बढी छ । २०६५ देखि आर्थिक वर्ष २०७३÷७४ सम्म रोजगारीको क्रममा ज्यान गुमाएका पाँच हजार आठ सय ९२ मध्ये मलेसिया र साउदीमा करिब दुई तिहाईको मृत्यु भएको छ । अध्ययन अवधिसम्म कुल मृत्युको मलेसियामा साढे ३६ प्रतिशत र साउदीमा २८ प्रतिशतको हाराहारीमा कामदारले ज्यान गुमाएका छन् । सोही अवधिमा कतारमा २० प्रतिशत जतिले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने प्रयास गरिए पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन । वैदेशिक रोजगारीको क्रममा सडक दुर्घटना, कार्यस्थलमा दुर्घटना हुने क्रम जारी छ । कतिपय गन्तव्य मुलुकका रोजगारदाता कम्पनीले कामदारको सुरक्षालाई सुधार गर्दै गए पनि मलेसिया र साउदीका रोजगारदाताले कामदारको सुरक्षालाई पटक्कै ध्यान दिएको पाइँदैन ।

२०६५ यता रोजगारीका लागि मलेसिया पुगेकामध्ये कार्यस्थल दुर्घटनामा परी एक सय ३६ को र साउदीमा एक सय १८ को निधन भएको छ । कामदारको कार्यस्थलमा निधन हुनु भनेको रोजगारदाता कम्पनी कामदारको सुरक्षाबारे बेपरवाह छन् भन्ने गतिलो उदाहरण रहेको श्रम विज्ञहरूको धारणा रहेको छ । साउदी र मलेसियाका रोजगारदाता कम्पनीले कामदारलाई सुरक्षित राख्न नसके पनि ती रोजगारदातालाई त्यहाँको सरकारले पनि कारबाही नगर्ने गरेको पीडित बताउँछन् ।

कार्यस्थल दुर्घटनामा परी ज्यान गुमाउनुको साथै ती मुलुकमा पुगेका कामदारले आत्महत्या गर्ने क्रम पनि उच्च छ । हालसम्म आत्महत्या गरेका चार सय ५१ मध्ये मलेसियामा एक सय ८९ र साउदीमा ९५ नेपाली युवायुवतीले आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख छ । रोजगारीका लागि विदेश पुगेर आर्थिक जीविकोपार्जन गर्ने लक्ष्य बोकेका युवायुवतीले आत्महत्या गर्नुको कारण पनि रोजगारदाता कम्पनीको अवस्था राम्रो छैन र कामदारप्रति ज्यादत्ति भइरहेको छ भन्ने प्रमाण रहेको विज्ञहरूको धारणा छ ।

Womui
Womui