भारतीय कमाण्डो नेपाल आइपुग्यो, देखिने संख्या ८६, नदेखिने कतिकति

82

मालती ओली
काठमाडौं, वैशाख २७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भित्री सुरक्षा घेरा भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहने भएको छ ।
सामान्तयाः विशिष्ट व्यक्तिले जुन देशको आतिथ्यता ग्रहण गर्छन् । सोही देशले नै सुरक्षाको बन्दोबस्ती मिलाउनु पर्ने प्रलचनविपरित मोदीको भ्रमणमा भने भारतीय कमाण्डोको नियन्त्रण रहने भएको हो ।

यद्यपि नेपाल सरकारले मोदीको सुरक्षाका लागि १० हजार भन्दा बढी सुरक्षाकर्मी खटाएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोदीको सुरक्षाका लागि जनकपुर, काठमाडौं र मुक्तिनाथसम्म नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन भइसकेको छ । मोदीको सुरक्षाका लागि बाहिरी सुरक्षा घेरा नेपाली सुरक्षाकर्मीको हुने भए पनि भित्री सुरक्षाको नियन्त्रण भारतीय कमाण्डोको रहनेछ । भारतीय कमाण्डोसँगै नेपाली सेना खटिने गृह मन्त्रालयले जनाएको छ । सेनाका उच्च अधिकारीले मोदीको सुरक्षा गर्न सक्षम रहेको जानकारी गराए पनि भारतीय कमाण्डो जानकारीबिना नै नेपाल आएको बताए ।

भारतीय कमाण्डो नेपाल आउनुलाई विपक्षी राजनीतिक दलले विरोध गरे पनि सरकारले भने कुनै प्रतिक्रिया जनाएको छैन । गृहका एक अधिकारीले भ्रमणमा कुनै विवाद नआओस् भनेर कमाण्डो नेपाल आएकोबारे भारतसँग कुरा नगरिएको बताए । ‘यो निकै उच्चतहको भ्रमण भएकाले कसरी सफल र भव्य बनाउने भन्नेमा ध्यान छ,’ उनले भने, ‘अन्य विषयमा चासो दिएका छैनौं ।’

मोदीको सुरक्षामा ८६ जनाको भारतीय कमाण्डो नेपाल खटिएको छ । देखिने त्यो संख्याबाहेक जनकपुर, काठमाडौं र मुक्तिनाथमा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी खटिएको आशंका गरिएको छ । यतिधेरै भारतीय सुरक्षाकर्मी नेपाल आएको पहिलोपटक हो । दुई वर्ष अघि नेपालमा संविधान जारी गरिएपछि ६ महिना नाकाबन्दी गर्ने निर्णय गरेका मोदीलाई असुरक्षा हुन सक्ने ठानेर भारतीय सुरक्षाकर्मी खटिएको धेरैको आशंका छ ।


मोदी शुक्रबार दुई दिने भ्रमणका नेपाल आउँदै छन् । हेलिकोप्टरमार्फत जनकपुरमा ओर्लिएर मोदी त्यसपछि काठमाडौं आउने छन् । जनकपुरमा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुरबाटै रामायण सर्किट (जनकपुर–अयोध्या यात्रा) सुरु गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच जानकी मन्दिरमा पूजाआरधनाको क्रममा भेट गर्ने कार्यक्रम मिलाइएको छ ।

मोदीलाई जनकपुरमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन् । शुक्रबार बिहान जनकपुर आएर मोदी शनिबार अपरान्ह् स्वदेश फर्कने कार्यक्रम छ । यसअघि २०७१ मा मोदीले नेपालको औपचारिक भ्रमण गरेका थिए । मोदी पुग्ने स्थान जनकपुर, काठमाडौं र मुक्तिनाथलाई सिगारिएको छ ।

Womui
Womui