आज बुद्ध जयन्ती, भव्य रूपमा मनाइँदै

175

छिनछिन खबर
काठमाडौं, वैशख १७ । वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती सोमबार देशभर विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका  रुपमा लिने गर्छन् । लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करिब दुई हजार छ सय वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मेका थिए । २९ वर्षका उमेरमा दरबार त्यागी उनी ज्ञानको खोजीमा लागे । छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो । यसपछि बुद्धका  रुपमा उनले विश्व प्रसिद्धि पाए । छत्तीस वर्षका उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन गरेका थिए ।

राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन् ।

यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन् । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् ।

यस वर्ष दुई हजार २५६२ औँ बुद्ध जयन्तीमा रुपन्देहीको लुम्बिनी, नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकालिन्छ। यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् शोभायात्रा निकालिन्छ । प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Womui
Womui