विवादले हुलाकी सडकको काम बन्द

31

नेपालगन्ज, बैशाख १६-
निर्माण स्थलमा भएको विवादका कारण बाँकेमा निर्माणाधिन हुलाकी सडकको काम बन्द भएको छ । नक्सांकन भएको विवाद समाधान नहुँदा स्थानीय बासिन्दाले काम बन्द गराएका हुन् । नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियामा विवादकै कारण स्थानीय बासिन्दा र निर्माण पक्षबीच झडप समेत भएको छ ।

स्थानीय बासिन्दाले तोडफोड गरेको टिपर ।

सोही विवादका कारण दुई दिनदेखी निर्माण कार्य रोकिएको छ । मटेहियाका स्थानीयबासिन्दा एवम् जग्गाधनी रफिक बेहनाको समुहले ठेकेदारका एक्साभेटर, टिपर तथा कर्मचारीमाथी तोडफोड र हातपात गरेको बताइएको छ । ठेकेदार कम्पनीका साइट ईन्चार्ज ईन्द्रबहादुर केसीले नक्सांकन विवादको विषयमा काममा अवरोध गरेर हातपात नै गरेपछि बन्द गर्नु परेको बताए । ‘स्थानीय बासिन्दाले कुटपिट गर्दा हाम्रा कर्मचारीलाई चोट लागेको छ, सवारी साधन तोडफोड भएका छन्,’ उनले भने ।

हुलाकी सडक कार्यालय नेपालगन्जका प्रमुख शौरभ बज्राचार्यले सडकको रेखांकन गर्ने बेलामा भएको त्रुटीले अहिले समस्या उत्पन्न भएको बताएका छन् । उनले भने, ‘नाप्ने बेलामा त्रुटी भयो, अहिले कतिले मुआब्जा लिन मानेका छैनन्, आफ्नो जग्गा फिर्ता गर्नुपर्ने माग गरेका छन् ।’ सडक बनाउने क्रममा दुई ठाउँको जग्गा कटेपछि किसानले एकातिरको जग्गा फिर्ता गरिदिन माग गरिरहेका छन् । बाँकेको कुल ४४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको छ । हुलाकी सडकको कामको लागि ‘पप्पु लुम्बिनी जेभी’ का नाममा ठेक्का स्वीकृत भएपनि ठेकेदार ‘गणपति गु्रप अफ कन्स्ट्रक्सन’ कम्पनीले गर्दै आएको छ ।

Womui
Womui