३३ किलो सुन तस्करीमा एकपछि अर्को प्रहरी तानिँदै, तत्कालीन प्रहरी प्रमुख नै शंकाको घेरामा

51

छिनछिन खबर
काठमाडौं, वैशाख १३ ।
३३ किलो सुन तस्करीमा प्रहरीका एकपछि अर्को अधिकारी तानिने क्रम जारी छ । हुँदाहुँदा तत्कालीन प्रमहरी प्रमुख प्रकाश अर्याललाई समेत छानवि समितिले शंकाको घेरामा हेरेको छ ।

अनुसन्धानका लागि तत्कालीन आइजिपी अर्यालले अपराध महाशाखाको टोलीलाई विराटनगर पठाएको रहस्य खुलेको हो । गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका अनुसार अर्यालकै सूचनाका आधारमा अपराध महाशाखाको टोलीले विराटनगर पुगेर ३३ केजी सुन तस्करीसँग जोडिएका सनम शाक्यको शव बरामद गरेको थियो । जसले गर्दा पूर्व आइजिपी अर्याल पनि शंकाको घेरामा परेका हुन् ।

अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीले छानबिन समितिको सोधपुछ क्रममा महानिरीक्षककै निर्देशनमा आफूले शाक्य हत्याको अनुसन्धानका लागि विराटनगरमा टोली खटाएको बताएका हुन् । महाशाखाले मुख्य नाइकेलाई जोगाएपछि त्यसमा भएको चलखेल बाहिर आएको थियो ।
सुन तस्करीका नाइके चुडामणि उप्रेती (गोरे) ले नै प्रहरी अधिकारीहरुलाई सूचना दिएर घटनाको व्यवस्थापनका लागि आफू अनुकूल प्रहरी काठमाडौंबाट परिचालन गराएका थिए । तस्करीको ३३ किलो सुन हराएपछि शाक्यले लुकाएको हुनसक्ने आशंकामा उनलाई अपहरण गरेर करेन्ट लगाइएको थियो । करेन्टकै कारण गत फागुन १८ गते शाक्यको मृत्यु भएको थियो ।

तीन प्रहरी अधिकारी निलम्बनमा

सुन तस्करीमै जोडिएका एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध मुद्दा प्रक्रिया अघि बढेको छ । उनीहरुलाई मोरङ जिल्ला अदालतले बिहीबार ६ दिन थुनामा राख्न म्याद दिएको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा संगठित अपराध मुद्दा चल्नेछ पूर्व डिआइजी गोविन्द निरौलाविरुद्ध पनि हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढाइएको छ । म्याद थप भएसँगै उनीहरु निलम्बनमा परेका छन् ।

Womui
Womui