कर्णाली प्रदेशको बजेट एक अर्ब दुई करोड, सात आयोजनालाई राष्ट्रिय गौरवको घोषणा

108

छिनछिन खबवर
सुर्खेत, वैशाख १३ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तेस्रो चौमासिकका लागि एक अर्ब दुई करोड पाँच लाख रुपैयाँ बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बिहीबारको प्रदेशसभा बैठकमा बजेट सार्वजनिक गरेका हुन् ।

 


संघीय सरकारले दिएको अनुदान १ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट ल्याइएको हो । जसमा चालु खर्चतर्फ ४३ करोड ८४ लाख ३ हजार अर्थात् कुल बजेटको ४२ दशमलव ९५ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगत खर्चतर्फ कुल बजेटको ५७ दशमलव ५ प्रतिशत अर्थात् ५८ करोड २० लाख ९७ हजार विनियोजन गरिएको छ ।

बजेटका प्राथमिकता
– सडक, विद्युत, खानेपानी, सिँचाइ, सूचना प्रविधिजस्ता भौतिक पूर्वाधार विकास,
– प्रदेश संगठन संरचना लगायत आवश्यक भौतिक पूर्वाधारको निर्माण,
– आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन
– कृषि पेसाको व्यवसायीकरण, विविधीकरण र बजारीकरण
– व्यवसायमैत्री उद्योग, कलकारखाना तथा वाणिज्य क्षेत्र प्रवर्द्धन
– जनमुखी व्यावसायिक शिक्षाको विकास
– सर्वसुलभ सुविधायुक्त स्वास्थ्य सेवाको व्यवस्था
– दक्ष, सिपयुक्त जनशक्तिको उत्पादन र मानव स्रोतको उचित व्यवस्थापन
– जडीबुटी व्यवसाय प्रवर्द्धन
– अर्गा्निक प्रदेशको आधारशिला निर्माण
– सहकारी व्यवसाय प्रवर्द्धन
– भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन

राष्ट्रिय गौरवका आयोजनाका लागि छनौट गरिएको आयोजना

– जमुनाहा–कोहलपुर–सुर्खेत–हिल्सा सडकलाई ‘प्रधानमन्त्री द्रुत लोकमार्ग’
– राजापुर–बर्दिया–सुर्खेत रानीघाट–फलाटे–दैलेख महाबु–कालिकोट चिलखाया–नाग्म गमगढी–नाक्चेलाग्ना सडक
– छिन्चु–सल्यान–जाजरकोट–रुकुम–डोल्पा–धो–मोरिम्ला जोड्न भेरी करिडोर
– सुर्खेत–कोहलपुर सुरुङमार्ग
– लुम्बिनी हुँदै दाङ, सल्यान, जाजरकोट, जुम्ला, मुगु रारा जोड्ने लुम्बिनी पर्यटन सर्किट
– रुकुम, सल्यान काटिमाटी–घुइयाबारी हुँदै प्रदेश ५ को खर्कबार–कोहलपुर जोड्ने अन्तरप्रदेश सडक
– दाङ–सल्यान–कालिमाटी–सुर्खेत बोटेचौर–भेडाबारी–धुलियाबीट–बड्डीचौर–गुटु हुँदै प्रदेश ७ को दिपायल जोड्ने अन्तरप्रदेश सडक

त्यसैगरी सरकारले सुर्खेतदेखि जुम्लासम्म केबलकार सञ्चालन गर्ने योजना पनि बजेटमा राखेको छ ।

भौतिक पूर्वाधार विकास अन्तर्गत सडक पुल निर्माणका लागि एकमुस्ट १३ करोड, विद्युत विकासका लागि ५० लाख, भवन निर्माण र व्यवस्थित सहरीकरणका लागि ६० लाख, तटबन्ध र बाँध निर्माणका लागि २० लाख, सिँचाइका लागि ७५ लाख, सरसफाइका लागि ५ लाख, खानेपानीका लागि १ करोड २० लाख रुपैयाँ छुट्याइएको छ ।

कर्णाली रारा पर्यटन वर्ष सञ्चालनका लागि ५ लाख, पर्यटक भित्र्याउन आवश्यक प्रचारप्रसार लगायतका अभियानका लागि ७० लाख विनियोजन गरिएको छ । ताल तथा झरना संरक्षण संवर्द्धन गर्न वन, भूसंरक्षण तथा जलाधरको संरक्षण संवर्द्धन गर्न १ करोड २८ लाख ९८ हजार, पर्यटकीय स्थानहरुमा भ्यूटावर पार्क, पदमार्ग तथा स्मृति भवन निर्माण लगायतका कार्यहरुका लागि १ करोड ४७ लाख विनियोजन गरिएको छ भने घरेलु तथा साना उद्योगहरुको विकास र पूर्वाधारको निर्माण तथा संरक्षण र गुम्बा तथा मन्दिर निर्माण तथा मर्मत सम्भार गरी व्यवस्थापन गर्न १ करोड ४७ लाख विनियोजन गरिएको छ ।

प्रादेशिक प्रहरीका लागि २६ लाख
समृद्धिका लागि शान्ति सुरक्षा भन्ने मूल नाराका साथ प्रादेशिक प्रहरी परिचालन गर्ने उपयुक्त नीतिगत तथा संरचनागत व्यवस्था गरिने सरकारले जनाएको छ। यस कार्यका लागि २६ लाख रकम छुट्याइएको छ ।

राउटेलाई २० लाख
लोपोन्मुख राउटे समुदायका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । राउटे समुदायको सामाजिक सांस्कृतिक जीवनपद्धतिलाई संरक्षण गर्न एक समिति गठन गरी उनीहरुलाई सामाजिक प्रक्रियामा सहभागी गराउन सल्यानको कालिमाटी र दैलेखको डुँगेश्वर लगायतका राउटे बसोबास क्षेत्रहरुमा एकै छानामुनि शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा उपलब्ध हुने गरी ’राउटे आवास कार्यक्रम’ सञ्चालन गर्न २० लाख विनियोजन गरिएको हो ।

Womui
Womui