हत्या मुद्दामा रिगललाई सर्वश्व सहित जन्मकैद

65

नेपालगन्ज, बैशाख ११-
नेपालगन्जमा चर्चित हत्याकाण्ड सम्बन्धी मुद्दाको फैसला भएको छ । उक्त मुद्दामा बाँके जिल्ला अदालतले १४ जनालाई कैद सजाय सुनाएको छ, भने एक जनालाई सफाई दिएको छ । नेपालगन्ज निवासी चेतन मानन्धरको हत्यामा दोषी भएको ठहर गर्र्दै अदालतले रिगल ढकाललाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

मुद्दामा प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, बिशाल भन्ने छबिलाल बस्नेत, मोहनलाल खड्का र नवराज खत्रीलाई अदालतले जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार दण्डपानी लामिछानेले जानकारी दिए । हत्याको घटनामा संलग्न सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र सिंह भनिने दीपेन्द्र मल्ललाई ५ तथा केशवबहादुर रोका, माधव नेपाली, विवाद पाठक, हरि ओली, प्रितम थापा, मनिस चौलागाई र यामबहादुर बुढामगरलाई ३/३ वर्ष कैद सजाय अदालतले सुनाएको छ । उक्त मुद्दामा आरोपी दीपक केसीलाई भने अदालतले सफाई दिएको श्रेस्तेदार लामिछानेले बताए ।

बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको ईजलासले मंगलबार मुद्दाको अन्तिम फैसला गरेको थियो । सो क्रममा प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ता सालिकराम सापकोटा, लोकबहादुर शाह, प्रह्लादबहादुर कार्की, टिकाजंग सिंह, सुनिलकुमार श्रेष्ठ लगायत करिव एक दर्जन कानुन ब्यवसायी तथा वादीका पक्षमा सरकारी वकिल टेकबहादुर थापाले बहस गरे । मृतक चेतनका आफन्त किशोरकुमार मानन्धरको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी रिगलसमेतका विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो । २०७२ असार २८ गते नेपालगन्जको सुर्खेतरोडमा दहाडै मानन्धरको हत्या भएको थियो ।

Womui
Womui