पठन पाठनका लागि कक्षा ८ सम्म शुल्क नलिन बिद्यालयलाई निर्देशन

131

बाँके (अगैया), बैशाख ११-
सामुदायिक बिद्यालयले कक्षा ८ सम्म पठन पाठनका लागि बिद्यार्थीबाट कुनैपनि शुल्क नलिन राप्तीसोनारी गाउँपालिकाको शिक्षा समितिले निर्देशन दिएको छ । गाउँपालिका अन्तर्गतका बिद्यालयमा आधारभुत तह कक्षा ८ सम्म शुल्क लिएको गुनासो आएपछि गाउँपालिका अध्यक्ष एवम् शिक्षा समितिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा हालै सम्पन्न बैठकको निर्णयबाट निर्देशन दिएको हो ।

प्रचलित शिक्षा ऐन/नियमले स्पष्ट रुपमा कक्षा ८ सम्म निःशुल्क व्यवस्था गरेको छ । बिद्यालयको समस्यालाई मध्यनजर गरी गाउँपालिकाबाटै शिक्षक ब्यवस्थापन तथा अन्य शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग गर्ने भएकाले सबै बिद्यालयलाई निःशुल्क सञ्चालन गर्नका लागि निर्देशन गर्ने तथा शुल्क लिईसकेको अवस्था भए सो शुल्क फिर्ता गर्न लगाउने निर्णय भएको समितिका सदस्य सचिव एवम् स्रोतब्यक्ती बिष्णुप्रसाद शर्माले जानकारी दिए । यस्तै बैठकले साविक जिल्ला शिक्षा कार्यालय बाँकेबाट प्राप्त बालविकास केन्द्रहरु मध्ये सञ्चालनमा रहेका र नरह्ेका अवस्था निक्र्यौल गरी पुनः वितरण गर्ने निर्णय पारित गरिएको छ । 

२०७५ सालको नयाँ शैक्षिक शत्रको भर्ना अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि प्रत्येक बिद्यालयको क्याचमेन्ट एरियामा सघन अभियान सञ्चालनका लागि सम्बन्धित वडा पालिकाको अनुगमन सहित अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । कुनै बिद्यालयको क्याचमेन्ट एरियामा बालबालिकाहरु कुनै कठिन परिस्थितीले बञ्चित भएको भए सो कारण तथा तथ्यांक गाउँपालिकामा पठाउनका लागि सम्पुर्ण प्रधानाध्यापकलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

राप्तीसोनारी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुले थप एक कक्षाको अनुमति माग गरेकाले सो सम्बन्धमा सामुदायिक बिद्यालयको कक्षा ९ र संस्थागत बिद्यालयको कक्षा थप गाउँपालिकाले पास गरेको कार्यविधी अनुसार कार्यपालिकाको निर्णय बमोजिम कक्षा थपको अनुमति दिनका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । साथै कार्यविधीको मस्यौदा गाउँपालिका शिक्षा शाखाले एक हप्ताभित्र तयार गरी पेश गर्ने निर्णय गाउँपालिकाको शिक्षा समितिले गरेको छ ।

उक्त बैठकमा वडा नम्बर ४ का वडाअध्यक्ष एवम् शिक्षा समितिका सदस्य कान्छा थारु, राप्तीसोनारीका शिक्षा प्रमुख जीवन न्यौपाने, समितिका सदस्यहरु मिना विष्ट, ऋषिराज शर्मा, लक्ष्मी ओली, सुनिता खाँड, लक्ष्मी थारु, टोपबहादुर सुनार र सदस्य सचिव विष्णुप्रसाद शर्मा उपस्थिती रहेको थियो।

Womui
Womui