खर्बौको आयात, निर्यात अर्बमा

51

छिनछिन खबर
काठमाडौं, वैशाख ११ । देशमा उत्पादनको वृद्धि हुने नसक्दा आयात निकै बढेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा सात खर्बबाट उकालो लागेको छ । यो घाटा अघिल्लो वर्षको भन्दा २३ प्रतिशतले बढी हो । नेपालले ५३ अर्बको निर्यात गर्दा सात खर्ब रुपैयाँको आयात गरेको छ ।


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७४÷७५ को आठ महिनाको मुलुकको आर्थिक तथा वित्तीय तथ्यांक अनुसार ५३ अर्ब ४२ करोड रुपैयाँको निर्यात गरेको छ भने सात खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । यस अनुसार आठ महिनामा सात खर्ब १४ करोड रुपैयाँको व्यापार घाटा मुलुकले बेहोर्नु परेको छ ।

यस अवधिको कुल व्यापारमा निर्यातको ७ र आयातको ९३ प्रतिशत योगदान छ । अघिल्लो वर्ष यो क्रमशः ७.७ र ९२.३ थियो ।
यस अवधिमा कुल वस्तु निर्यात १०.८ प्रतिशतले र आयात २२.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात १२.८ प्रतिशतले र आयात ४४.२ प्रतिशतले बढेको थियो ।

निर्यातको तथ्यांक हेर्दा सबैभन्दा धेरै चीनतर्फ भएको देखिन्छ । आठ महिनाको अवधिमा चीनतर्फको निर्यात ६२ प्रतिशतले बढेको छ । दक्षिणतिरको छिमेकी भारतमा ९.८ प्रतिशतले र अन्य मुलुकतर्फ ९.१ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकको जनाएको छ । आयात भारत र चीन दुवैतिरको बराबर बढेको छ । तथ्यांक अनुसार भारतबाट हुने आयात २२.३ र चीनबाट हुने २२.२ प्रतिशतले बढेको छ । अन्य मुलुकबाट भएको आयात २१.३ प्रतिशतले बढेको छ ।

Womui
Womui