१९ वर्षपछि हत्याका अभियुक्त पक्राउ

62

नेपालगन्ज, बैशाख १०-
हत्या पश्चात फरार रहेका एक ब्यक्ति १९ वर्षपछि बाँकेमा पक्राउ परेका छन् । कर्तब्य ज्यान मुद्दामा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका १५ पिप्रहवा निवासी ३९ बर्षिय मेराज अली वेहनालाई बाँके प्रहरीले पक्राउ गरेको हो । भारतको बहराईचस्थित कैलाशपुर गाउँका सावलीप्रसाद बर्माको २०५५ असोज २८ गते हत्या गरेको अभियोगमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको थियो ।

लामो समयसम्म फरारको सूचीमा रहेका बेहनालाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ बाट आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेकबहादुर तामाङका अनुसार उनी हत्यापश्चात फरार भएपनि सिमापारी र सिमावारीका गाउँमा लुकिपिछी बस्दै आएका थिए । ‘फरार सूचीको अभियुक्त भएको हुनाले हामीले उसलाई निग्रानी गरिरहेका थियौं, विशेष सूचना प्राप्त भईसकेपछि पक्राउ गर्न सफल भयौं,’ तामाङले भने ।

२०५५ असोज २८ गते साविक भवानीयापुर–२ हाल नेपालगन्ज–१४ बालेगाउँमा भएको उक्त घटनामा वेहनासहित ६ जनाको संलग्नता रहेको थियो । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा तत्कालिन समयमा जिप्रका बाँकेमा मुद्दा दर्ता गरिएको थियो । जग्गाको कारोकारका विषयमा बिबाद हुँदा बर्माको हत्या भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भनिएका अन्य ५ जना अझै फरार रहेको बाँके प्रहरीले जनाएको छ ।

Womui
Womui