चर्को शुल्क लिएर सेवा नदिने बोर्डिङ स्कुललाई कारबाही गरिने

104

बाँके (खजुरा)-अभिभावकबाट चर्को शुल्क उठाउने बोर्डिङ स्कुललाई खजुरा गाउँपालिकाले निग्रानी बढाउने भएको छ । गाउँपालिका क्षेत्रभित्र सञ्चालित बोर्डिङ स्कुलले चर्को शुल्क लिएर प्रभावकारी सेवा, सुबिधा नदिएको पाइएको कारबाहीको दायरामा ल्याउने तयारी खजुरा गाउँपालिकाले गरेको छ । नयाँ शैक्षिक शत्रको सुरुवात भएसँगै सरकारी र बोर्डिङ स्कुलले धमाधम भर्ना अभियान थालेका छन् ।

सरकारी बिद्यालय छाडेर बोर्डिङ स्कुलमा आफ्ना बालबालिकालाई पढाईरहेका अभिभावकले शुल्क बृद्धिप्रति असन्तुष्टी जनाउने गरेका छन् । बोर्डिङ स्कुलले विभिन्न शिर्षकमा लिने शुल्क अनुसारको सेवा, सुबिधा नदिए कारबाहीको दायरामा ल्याउने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । बोर्डिङ स्कुलले उठाएको शुल्क अनुसार सेवा, सुबिधा नदिएको गुनासो प्राप्त हुने बित्तिकै हदै सम्मको कारबाही गर्ने उनको चेतावनी छ ।

बिद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अनुरोध गर्दै कक्षपतिले सामुदायिक बिद्यालयको गुणस्तर उकास्न शिक्षक, अभिभावक, जनप्रतिनिधी मिलेर काम गर्न आवश्यक रहेको बताए । भर्ना भएका बिद्यार्थीले बिद्यालय बीचमै छाड्ने प्रवृत्ती रोक्न गाउँपालिका प्रयासरत रहेको बताएका छन् । शिक्षक दरबन्दीको सवालमा आफुहरु अत्यन्त गम्भिर रहेको बताउँदै गाउँपालिका अध्यक्ष कक्षपतिले छिट्टै दरबन्दी समस्या समाधान गरिने प्रतिबद्धता जनाए । शिक्षा क्षेत्रलाई माथि उकास्न योग्य शिक्षक मात्र राखिने बताए । खजुरा गाउँपालिकाभरी १४ वटा माध्यामिक, ५ वटा आधारभुत र ४ वटा प्राथमिक बिद्यालय रहेका छन् ।

गाउँपालिका उपाध्यक्ष एकमाया बि.कले शिक्षा ऐन पारित भईसकेको र अब प्रमाणिकरण गर्न मात्र बाँकी रहेकाले समग्र शिक्षाको विकासको लागी ऐन मुल ढोका बन्ने बताईन् । उपाध्याक्ष बि.कले गरिबको छोराछोरीले पनि सम्पन्न घरका छोराछोरी सरह शिक्षा लिन पाउनुपर्ने बताईन् । उनले भनिन्, ‘सबैलाई समान शिक्षा प्रदान गर्न सकियोस भनेर कार्यविधि पनि बनाएका छौं ।’

Womui
Womui