माओवादी–एमाले एकतामा सहमति जुटेको हो ?

134

मालती ओली
काठमाडौ, वैशाख ४ । स्थानीय तहको निर्वाचन अघि नै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रबीच अझै पार्टी एकता हुन सकेको छैन ।

पार्टी एकताका लागि पटकपटक गरिएका छलफलबाट अहिलेसम्म देखिने गरी कुनै नतिजा निस्केको छैन । एकता गर्ने भनी तोकिएका पटकपटकका मिति निष्कर्षविहीन हुँदै आएका छन् । पछिल्लो पटक पार्टी एकताका लागि तोकिएको वैशाख ९ गते दुई दल एउटै बन्न सक्लान् त भन्ने धेरैमा तीव्र चासो छ । खासगरी फरक फरक सोच भएका ती दुई पार्टी कसरी एउटै हुन्छन् र नेता, कार्यकताको कसरी व्यवस्थापना हुन्छ भन्ने यतिखेर धेरैको चासो हो । मौखिक रुपले दुबै दलका नेताले पार्टी एकीकरण हुने दाबी गर्दै आए पनि व्यवहारमा भने त्यति सहज देखिँदैन ।

यसैबीच एकीकरणको विषयलाई टुंग्याउन दुई दलबीच मंगलबार निर्णायक छलफल हुने तयारी गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् । एमाले नेता सुवास नेम्वाङले वैशाख ९ गते नै एकता हुने गरी पहल भइरहेको बताए । एमालेले वैशाख ६ गते पोलिटब्युरो र वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

माओवादी केन्द्रले पनि निर्णयक वार्ता अघि शीर्ष नेताबीच छलफल गर्दैछ । सोमबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टासम्म छलफल भएको थियो ।

Womui
Womui