कलाकार बनेर पोर्चुगल पुगेका तीन युवा फिर्ता हुँदै

107

सन्तोष थापा
पोर्चुगल, बैशाख ३ । दुई महिना अगाडि कीर्ते कागजात गरी पोर्चुगल पु¥याइएका तीन युवा नेपाल फिर्ता हुने भएका थिए ।
दलालले उनीहरूलाई युरोपियन संस्थाले आयोजना गरेको एक सांगीतिक कार्यक्रमको लागि भन्दै नक्कली कलाकार बनाएर युरोप छिराएका थिए । धादिङ, निलकण्ठ नगरपालिकाका कुमार लामा भन्ने रामकुमार तामाङले युरोपियन संस्थाको सांगीतिक कार्यक्रम र लक्जेमबर्ग सरकारको आमन्त्रण गरेको कार्यक्रम भन्दै ती युवालाई पोर्चुगल ल्याएको थियो ।

तामाङले सांगीतिक कार्यक्रमका लागि नेपालका चर्चित कलाकार अनिल सिंह लगायतको नाम प्रयोग गरेको थियो । उनले ती युवाबाट ४५ लाख रुपैयाँ असुल गरेको पीडितले बताए । लक्जेमबर्ग सरकारको आमन्त्रण र संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनी झुक्काएर युरोप छिरेका धादिङ, भेडाबारी– ७ का जगत थापा, दोलखा, खरिढुङा– ८ लाकुरीडाँडाका जगत श्रेष्ठ र स्याङ्जाको करिकोटका अनिल कोइराला छन् ।

पोर्चुगलको गृह मन्त्रालयले (आन्तरिक प्रशासन ) चोरी, ठगी, कीर्ते गरी युरोप छिरेका तीन जनालाई अध्यागमन कानुन अनुसार कानुनी कारबाही र देश फिर्ता गराउने जनाएको छ ।
पोर्चुगलको वास्तविकता
युरोपेली संघको सदस्य भएको नाताले युरो मुद्रा चल्ने पोर्चुगल क्याथोलिक क्रिस्चियन बाहुल्य लोकतान्त्रिक मुलुक हो । सन् १९९६ देखि पोर्चुगलमा नेपालीको बसोबास सुरु भएको हो । ब्राजिल, मोजाम्बिक, भारतको गोवा, अंगोलालगायत विभिन्न मुलुकको उपनिवेश भए पनि आर्थिक रूपमा कमजोर भएकाले विदेसी कामदार र लगानी भित्र्याउन सुरु गरेको हो ।
नेपालीहरू भने २०४७ पछि पोर्चुगल आउने क्रम बढेको हो । जर्मनी, बेल्जियम, डेनमार्कजस्ता धनी मुलुकमा पढ्न, घुम्न र तालिममा आउने नेपाली स्थायी रूपमा बस्न पोर्चुगल आउने क्रम बढेपछि नेपालीको बसाइ बाक्लिन थालेको हो । माओवादी द्वन्द्वकालमा नेपाली युरोप प्रवेश क्रम ह्वात्तै बढेपछि कानूनी रूपमा वैध हुन पोर्चुगल भित्रिनेहरूको संख्या पनि बढेको हो ।
पोर्चुगलका महावाणिज्यदूतका अनुसार तुलनात्मक रूपमा अन्य देशका भन्दा नेपालीहरू काममा मिहेनत गर्ने, अपराध कर्ममा संलग्न नहुने भएकाले नेपालीहरू पोर्चुगीज समाजमा असल मानिसका रूपमा परिचित छन् । विभिन्न व्यवसायमा संलग्न भएर पनि नेपालको परिचय बढेको छ । राजधानी लिस्बनमा रेस्टुरेन्ट व्यवसायमा लाग्नेहरूले नेपालको चिनारी बढाएका छन् । त्यसबाहेक नेपालको हस्तकला, वस्तुकला र नेपाली कागजले पनि हाम्रो उत्पादनसँगै देशलाई चिनाएको छ ।
कानुनी रूपमा पोर्चुगलमा वैध हुने तरिका त्यति गाह्रो छैन । युरोपेली संघका २७ देशमध्ये कुनै एक देशमा वैधानिक रूपमा प्रवेश गरेको भिसा र पोर्चुगल प्रवेश गरेको जल, स्थल वा हवाई साधनको टिकट हुन जरुरी छ । आउनेबित्तिकै कर कार्यालयमा दर्ता भएपछि काम खोज्न सकिन्छ । ६ महिनासम्म कर तिरेपछि सामाजिक सुरक्षाको कर विवरण भरेर वैध हुनका लागि निवेदन दिन सकिन्छ ।
गृह मन्त्रालयले आवश्यक जाँचबुझ गरेपछि, नेपालमा अपराध नगरेको प्रहरी सिफारिस पत्र र कर कार्यालयले प्रमाणित गरेको कागज भएपछि बस्ने र काम गर्ने कागज पाइन्छ । यो कागजले नेपाल आउन, जान र युरोपेली संघका अन्य मुलुकमा घुम्न व्यापार व्यवसाय गर्न खुला हुन्छ ।

विभिन्न मेनपावरमार्फत् आउने प्रक्रिया भने फरक छ । विभिन्न कम्पनीलाई कामदार आवश्यक परेको पोर्चुगीज सरकारबाट प्रमाणित गरेर नेपालका मेनपावरसँग समन्वय गरी नेपाली कामदार मगाउने क्रम बढिरहेको छ । यसरी नेपालमै भिसा र आवासीय कार्ड बुझेर आउनेहरू धेरैजसो खेतीपातीमा संलग्न छन् ।

Womui
Womui