माओवादी–एमाले एकीकरणमा किन हुँदैछ ढिलाइ ?

29

प्रशिद्धीका खड्का
काठमाडौं, बैशाख ३ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने भनिएको मिति नजिकिँदै जाँदा दुबै दलबीचको संवाद भने पातलिएको छ । एकताको मिति नजिकिँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकाएक सिन्धुपाल्चोकको सुकुटे पुगेपछि बैशाख ९ गते हुने भनिएको दुई दल एकता हुनेमा थप संशय उत्पन्न भएको हो ।

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर दाहाल आराम गर्न भन्दै सुकुटेतर्फ लागेका हुन् । उनी सुकुटेको इक्वेटर रिसोर्टमा बसेका छन् । तनावबाट मुक्त हुन दाहाल यसअघि पनि पटक पटक सुकुटे पुग्ने गरेका छन् । ओली कर्णाली प्रदेशबाट फर्किए लगत्तै आइतबार साँझ बालुवाटारमै दुई नेताबीच पार्टी एकीकरण टुंगो लगाउन वार्ता हुने भनिएको थियो । तर, दाहालको सचिवालयबाट आउन नसकिने जानकारी ओलीको सचिवालयलाई गराइएको थियो ।

बैशाख ९ गते पार्टी एकीकरण गर्ने निर्णय गरेर भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री ओली फर्किएपछि एकता प्रक्रियाले गति लिन सकेको छैन । आइजिपी नियुक्ति प्रकरणमा भेट भएका दुई नेताबीच एकीकरणबारे वार्ता समेत भएको छैन । यसबीचमा पार्टी एकता संयोजन समिति बैठक डाकेर पनि स्थगत गरिएको थियो । प्रधानमन्त्री ओली राराबाट फर्किएपछि दुई नेताबीच एकताबारे छलफल हुने तयारी गरिएको थियो ।
स्रोतका अनुसार पार्टी एकताप्रति दाहाल पछिल्लो समयमा उत्साही छैनन् । आफ्नै दलका नेता, कार्यकर्ता तथा एकीकरणपछि आफ्नै हैसियत के हुने भन्ने पिरलोमा उनी रहेको बताइन्छ । माओवादी नेता, कार्यकर्ताले दाहाललाई बराबरी हैसियतमा एकता हुनुपर्ने दबाब दिइरहेका छन् । दाहालले पार्टी र सरकारमा आफ्नो प्रभाव नदेखिएको भन्दै गुनासो गरिरहेको स्रोतले बताएको छ ।

 


एमाले पक्षले भने चुनावको परिणामलाई मुख्य आधार बनाएर संगठन एकीकरण गर्नुपर्ने भन्दै माओवादीले भनेको बराबरी हैसियत कुनै हालतमा हुन नहुने बताएको छ । एमाले नेता सुभाष नेम्वाङले दुई दलबीच एकीकरण हुने प्रयासमै छलफल जारी रहेको बताए । उनले बैशाख ९ गते नै एकीकरण हुन्छ या हुँदैन भन्न भने नसकिने बताए ।  त्यस्तै, माओवादी नेता मणि थापाले दुई पार्टीबीच एकीकरणका लागि टुंग्याउनु पर्ने विषय अझै धेरै बाँकी रहेको बताए । एकीकरण हुँदा दुबै दलले समान महसुस गर्नुपर्ने थापाको भनाइ छ ।

Womui
Womui