कोरिया जाने मोह अझै उस्तै

48

मालती खड्का
काठमाडौं, चैत १९ । रोजगारीका लागि दक्षिण कोरिया जान खोज्ने नेपालीको मोह अझै उस्तै पाइएको छ । प्रधानमन्त्री लगायत देशका उच्च तहमा रहेका व्यक्तिहरूले स्वदेशमा रोजगारीको अवसर सिर्जना गरिने बताइरहेको बेला युवायुवतीको मोह भने विदेशमै देखिएको छ ।

कोरियामा थ्रिडी अर्थात डेन्जरस, डिफिक्लटी र डर्टी मानिँदै आएको काममा जान यसपटक ८२ हजार दुई सय ६४ युवायुवतीले दरखास्त आवेदन दिएका छन् । जुन संख्या अहिलेसम्मकै सबभन्दा बढी हो । आवेदन दिनेमा १२ हजार आठ सय ७७ महिला छन् ।

कोरियाले सन् २००७ देखि सुरु गरेको रोजगारदाता अनुमति प्रणाली अन्तर्गत भाषा परीक्षामा सहभागी हुन अघिल्लो वर्षको तुलनामा यसपटक १४ हजार बढीको आवेदन परेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ । यद्यपि गत वर्ष कोरिया सरकारले त्यहाँ लैजाने नेपाली कामदारको संंख्या यसपटकको भन्दा करिब ५ हजारले बढी तोकेको थियो ।
सन् २०१९ मा कोरियाको कृषि लगायतको काम गर्नका लागि सात हजार एक सय जनाको कोटा निर्धारण गरेको छ । इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले आवेदन दिएका सबैको भाषा परीक्षा जेठ २६ र २७ गते काठमाडौं र पोखराका केन्द्रमा हुने जानकारी दिए । भाषा परीक्षाको नतिजा असार १६ गते प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

विगतदेखि नै रोजगारीका लागि कोरिया जाने आकर्षण बढिरहेको बेला पछिल्ला वर्षमा भने कोरिया मोह झनै चुलिँदै गएको पाइएको छ । कोरिया गएका कतिपय व्यक्तितले त्यहाँ निकै निकै कडा काम गर्नुपर्ने भएकाले युवायुवतीद्वारा आत्महत्याका घटना वृद्धि भइरहेको गुनासो गरिरहेको बेला नेपालमा भने कोरिया मोह बढेपछि सरकारी निकायलाई युवायुवती स्वदेशमै बस्न लायक बनाउन थप चुनौती देखिएको छ । ग्रामीण भेकका कतिपय बस्तीमा श्रम गर्नसक्ने युवायुवतीको अभाव भइरहेको बताइन्छ । अर्थविदरूले सरकार र आफूलाई अब्बल ठान्ने निजी क्षेत्रले स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न नसक्दा विदेश मोह बढिरहेको बताउँदै आएका छन् ।


कोरिया जानका लागि आवेदन शुल्क मात्र २४ अमेरिकी डलर (करिब दुई हजार पाँच सय रुपैयाँ) बुझाउनु पर्ने व्यवस्था छ । जुन रकममध्ये ६ अमेरिकी डलर भाषा परीक्षा सञ्चलन र अन्य प्रशासनिक खर्चका लागि इपिएस शाखालाई उपलब्ध गराइन्छ भने बाँकी रकम कोरिया जान्छ । सन् २०१९ का लागि आवेदन भरेका युवायुवतीबाट मात्र साढे २० करोड रुपैयाँ संकलन भएको छ । सन् २००७ यता जोड्ने हो भने आवेदन शुल्कको एक अर्ब २० करोड रुपैयाँ भन्दा बढी रकम कोरिया पुगेको छ । त्यस्तै शाखाले आवेदक शुल्क बुझाउनका लागि एक मात्र बैंक ग्लोबल आइएमई बैंकलाई चयन गरेका कारण युवायुवतीले सास्ती खेप्नु परेको थियो । दरखास्त दिने अवधि शनिबार मध्यान्ह् रातिदेखि सकिएको छ ।

Womui
Womui