संयोजक थापालाई ऐन कानुन ड्राफ्ट गर्ने जिम्मा

211

नेपालगन्ज-न्यायिक समिति संघ बाँकेको चौथो बैठक आइतबार नरैनापुर गाउँपालिकामा बसेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरस्थित गाउँपालिका कार्यालयमा संघको ‘मोबाइल मिटिङ’ बसेको हो । बैठकले संघलाई आवश्यक पर्ने ऐन, कानुन, कागजपत्र, फारामको ढाँचा ड्राफ्ट गर्ने जिम्मा संघका संयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरलाई दिने निर्णय गरेको छ । आठ वटै स्थानीय तहका न्यायिक समितिका संयोजकहरुको उपस्थितिमा बैठक बसेको हो ।

न्यायिक समितिको संयोजक स्थानीय तहका उपाध्यक्ष वा उपप्रमुख रहने व्यवस्था छ । बैठकअघि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह र उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले सबै उपप्रमुखलाई गाउँपालिका कार्यालयमा स्वागत गरेका थिए । अध्यक्ष साहले गाउँपालिकाले सञ्चालन गरिरहेका गतिविधिका विषयमा जानकारी गराएका थिए । न्यायिक समितिको प्रभावकारी सञ्चालनका लागि आफूले पूर्ण सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । संघकी संयोजक थापाले न्यायिक समितिको सहजताका लागि इजलास कक्ष, कानुन शाखा, कर्मचारीको व्यवस्थापन, दक्षता अभिबृद्धि तालिम गर्न गाउँपालिकालाई आग्रह गरेकी थिईन् ।

न्यायिक समितिको काम, कर्तव्य, अधिकार र उपाध्यक्षको जिम्मेवारीबारे प्रष्ट हुन अध्यक्षलाई सहयोग पुर्याउने हेतुले सबै स्थानीय तहमा ‘मोबाइल मिटिङ’ राख्दै आएको थापाले बताईन् । समितिको अर्को बैठक बैशाखमा राप्तीसोनारी गाउँपालिकामा बस्ने निर्णय भएको संघले जनाएको छ । यसअघि कोहलपुरमा पहिलो, नेपालगन्जमा दोस्रो र डुडुवामा संघको तेस्रो बैठक बसेको थियो ।

Womui
Womui