‘मोडलिङमा भविष्य’ खोज्दै अनिशा

164

नेपालगन्ज-सानै उमेरमा नृत्य बिधामा ‘खप्पिस’ अनिशा चन्दलाई मोडल बन्ने रहर एकाएक बढेर आयो । मनभित्र ईच्छा हुँदा हुदैपनि पढाई अपुरो हुने हुँदा उनले त्यो उमेरमा रहर पुरा गर्न सकिनन् । छोरीलाई जतिसक्दो राम्रो बिषय पढाएर सरकारी जागिर खुवाउने घरपरिवारको चाहना हुनु स्वभाविक थियो । सोही कारण उनी घरको निर्णयभन्दा बाहिर जान सकिनन् । एसएलसी उर्तीण गरिसकेपछि अनिशाले कृषि (जेटिए) विषयमा १५ महिने कोर्स पुरा गरिन् । कृषि विषय पढेकी उनलाई जागिरको अभाव हुने कुरै भएन ।

 

केही समयसम्म कृषि जेटिएको रुपमा जागिर गरिन्, तर पेशालाई निरन्तरता दिन सकिनन् । अनिशाले सानैदेखीको मोडल बन्ने सपनालाई साकार पार्ने निधो गरिन् । कोहलपुर नगरपालिका वडा नम्बर १४ निवासी अनिशा मोडलिङलाई ‘करिअर’ बनाउन केही समययता राजधानीमा ब्यवसायिक रुपले जम्न थालेकी छन् । ‘कृषि जेटिए विषय पढेपनि मलाई मोडलिङमै जम्न मन लाग्यो,’ उनले भनिन् ‘मोडलिङ सानैदेखीको रुची हो, त्यो बल्ल पुरा भएको छ ।’ सानो उमेरमा आफुले लिएको मोडलिङको सपना अहिले पुरा भएको उनी बताउँछिन् । मोफसलमा कलाकारिता क्षेत्रमा टिक्न र बिक्न गाह्रो छ ।

पछ्यौरी छ नासो….. बोलको गितमा मोडलिङ गर्दै अनिशा चन्द । 

तसर्थ, अधिकांस कलाकारहरु कलाकारिता क्षेत्रमा भविष्य खोज्न राजधानीतिर हान्निएका छन् । ब्यवसायिक रुपले मोडलिङमा टिक्न र बिक्न अनिशाले पनि राजधानी छिर्ने निधो गरिन् । केही महिनासम्म राजधानीमा निकै मेहेनत गरेकी उनी अभिनित पहिलो गित हाल सार्वजनिक भईसकेको छ ।

देबेन्द्रसिंह ठकुरीको लोक दोहोरी कोशेलीलाई गायक गणेशसिंह ठकुरी र गायिका करिस्मा बिसीले स्वर दिएका छन् । ‘पछ्यौरी छ नासो…..’ बोलको उक्त गितमा अनिशाले मोडलिङ गरेकी छन् । उनलाई बिमल अधिकारीले साथ दिएका छन् । ‘पहिलो पटक मोडलिङ गर्दा जीवनमै सबैभन्दा बढी खुसी भएँ,’ आफ्नो अनुभव सुनाउँदै मोडल अनिशाले भनिन् ‘जब भिडियो तयार भएर टिभीमा बज्न थाल्यो, त्यसपछि आफन्त, ईष्टमित्र र साथीहरुका फोनहरु आउन थाले ।’

गितको भिडियो सार्वजनिक भए लगत्तै धेरै ठाउँबाट सकारात्मक प्रतिक्रिया र मोडलिङको अफर पनि आएको उनले सुनाईन् । ‘पहिलो भिडियोबाटै धेरै राम्रो रेसपोन्स आएपछि उत्साह थपिएको छ,’ अनिशाले भनिन् । मोडलिङमा जम्न धेरै मेहेनत गर्नुपरेको अनुभव सुनाउँदै उनले थपिन्, ‘यो क्षेत्रमा स्थापित हुन आफ्नो मान्छेको पनि सहयोग आवश्यक पर्दोरहेछ र आफुले पनि मेहेनत गर्नुपर्दो रहेछ ।’ भविष्यमा मोडलिङमै रहेर फिल्ममा समेत अभिनय गर्ने उनको सोच छ ।

-नागरिक दैनिक, पश्चिमेलीबाट साभार

Womui
Womui