धक्याउँदै करोडौं रकम माग्ने गिरोह पक्राउ

53

नेपालगन्ज-व्यवसायीलाई धम्क्याउँदै रकम माग्दै आएको अपराधिक संगठन प्रहरीको नियन्त्रणमा आएको छ । फोन र एसएमएसमार्फत धम्क्याउँदै लाखौं रकमको माग गर्ने गिरोहलाई बाँके प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । फागुन १० गतेदेखि अपरिचित नम्बरबाट फोन गरी व्यवसायीलाई रकम नदिए धम्याउँदै आएका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँके जिल्ला प्रहरी उपरिक्षक टेकबहादुर तामाङले बताए । बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुको समूहलाई नियन्त्रणमा लिन सफल भएको जानकारी दियो ।

अनाधिकृत नम्बरबाट फोन र एसएमएस गरी माग गरे अनुसारको रकम नदिएमा व्यवसायीको घर परिवार उडाउने धम्की दिँदै आएका थिए । ६ जनाको समूहले १० जना व्यवसायीलाई धम्याउँदै करिब दुई करोड रकम माग गरेका प्रहरी प्रमुख तामाङले बताए । व्यवसायीको मौखिक उजुरीपछि प्रहरीले दुई हप्तासम्म अनुसन्धान गरी बुधबार नेपालगन्जको घरवारी टोलमा रहेको एक होटलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुख्य योजनाकार सुर्खेत लेखगाउँ १ का ३२ वर्षिय बिजयबिक्रम शाह, बाँके राप्तीसोनारी-५ का घर भई हाल नेपालगन्ज उपमहानगरपालिका ४ बस्ने ३२ वर्षिय केशराज भण्डारी, चितवन भरतपुर उपमहानगरपालिका-६ का १८ वर्षिय विष्णु तिमिल्सीना, १८ वर्षिय कुशल श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका-८ का ५६ वर्षिय राजु भन्ने असफाक सिद्धिकी र कोहलपुर नगरपालिका-१२ का ४० वर्षिय रमेशप्रसाद अधिकारी रहेका छन् ।

प्रहरीले बुधबार तीन जनालाई भरीपूर्ण गेष्ट हाउसबाट पक्राउ गरेको र बाँकी तीन जनालाई उनीहरुको बयानपछि फरक–फरक ठाउँबाट नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीका अनुसार उनीहरुले मुख्य रुपमा चार जना व्यवसायीसँग भारी मात्रामा रकम माग गरेका थिए । चार जना व्यवसायीलाई फोनमार्फत धम्याउँदै जम्मा एक करोड ८८ लाख रुपैयाँ माग गरेका थिए । पक्राउ परेका मध्य तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ भने, बाँकी तीन जनालाई थप अनुसन्धानका लागि अन्यत्र राखिएको बताएको छ । यसरी व्यवसायीबाट फोन मार्फत नै करोडौं रकम माग गर्ने गिरोह पक्राउ परेपछि नेपालगन्जका व्यवसायीमा आतंकित भएका छन् । व्यवसायीले आफुलाई सुरक्षित रुपमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । गिरोहले उद्योगी, व्यवसायी, शैक्षिक संस्था सञ्चालन गर्नेलाई धम्क्याएको प्रहरीले बताएको छ ।

Womui
Womui