जनप्रतिनिधिले पनि खाए हात्तिपाईले रोगको औषधी

135

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिले हात्तिपाईले रोग विरुद्धको औषधी खाएका छन् । शनिबार बिहान स्थानीय विपी चोकमा पुगेर उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा र उपमेयर उमा थापामगर लगायतले औषधी खाई कार्यक्रमको शुभारम्भ गरेका थिए । सो क्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, जनस्वास्थ्य कार्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका लगायतको उपस्थिती रहेको थियो ।

जनप्रतिनिधिले औषधी खाईसकेपछि स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खुवाउन सुरु गरेका थिए । जनस्वास्थ्य कार्यालयका अनुसार शनिबार पहिलो दिन बाँकेका सबै स्थानीय तहमा हात्ति पाईले रोग विरुद्धको औषधी खुवाइएको छ । जिल्लामा यो झण्डै साढे पाँच लाख जना व्यक्तिलाई औषधि खुवाउने लक्ष्य राखिएको छ । कार्यालयले दिएको जानकारी अनुसार ९ सय ९१ केन्द्रबाट ५ लाख ३५ हजार ७ सय ९७ जनालाई सो औषधि खुवाईनेछ । सरकारले हात्तिपाईले रोग निवारण अभियान अन्तर्गत २०६७ बाट औषधी खुवाउन सुरु गरेको थियो ।

जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले पहिलो दिन शनिबार प्रत्येक खोप केन्द्रमा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईसकेपछि १३ र १४ गते स्वास्थ्यकर्मीले घरदैलो मार्फत औषधी खुवाउने बताए । कार्यालयले सो कार्यका लागि २ हजार ३ सय स्वयं सेवक तथा ३ सय ४६ जना स्वास्थ्य र ५ वटा आरआरटी टिम परिचालन गरेको जनाएको छ । हात्ति पाईले रोग विरुद्धको औषधी खाना खाईसकेपछि मात्र खाने, दुई वर्ष मुनिका बालबालिकालाई नखुवाउने, गर्भवती महिला र सुत्केरी भएको ७ दिन भित्रकालाई नखुवाउने, दिर्घरोगीहरु मुटु क्यान्सर, मृगौला, श्वास प्रश्वास, छारे(मृर्मी) रोगी, २४ घण्टाभित्र ज्वरो आएका बिरामीलाई नखुवाउने, ५ बर्ष मुनिका कुपोषित बालबालिका र अन्य कडा कुपोषित व्यक्तिलाई नखुवाउने र ७० वर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई सावधानी पुर्वक मात्र औषधी खुवाउने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

Womui
Womui