नेपालगन्ज भन्सारमा रोकिएन तस्करी

107

नेपालगन्ज-नेपालगन्ज नाकाबाट श्रंखलावद्ध रुपले तस्करी बढेको छ । उक्त नाकाबाट ठुलो परिमाणको चिनी तस्करी भएर आएको एक साता नपुग्दै मंगलबार पुनः ठुलो परिमाणको मासु तस्करी भएको छ । भन्सार नाकाबाट तस्करी गरेर नेपालगन्ज ल्याइएको ६ क्वीन्टल कुखुराको मासु वडा प्रहरी कार्यालय नेपालगन्जले बरामद गरेपछि तस्करीको श्रृंखला बढेको पाइएको हो । गत बिहीबार मात्र ४ वटा बोरामा २ क्वीन्टल चिनी प्याक गरी चेकपोष्ट पार गरेर नेपालगन्जतर्फ आईसकेका दुई महिलालाई नेपाल प्रहरीको पाँच नम्बर प्रदेश अनुसन्धान ब्युरो टोलीले नियन्त्रणमा लिएको थियो । तस्करी गरेर ल्याएको उक्त मासु नेपालगन्जको सल्यानीबागमा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको वडा प्रहरी ईन्चार्ज प्रहरी निरिक्षक राजनकुमार गौतमले जानकारी दिए ।

भारतबाट तस्करी भएर नेपालगन्ज भित्रिएको कुखुराको मासु ।

 

उनका अनुसार उक्त मासु नेपालगन्जस्थित डिके मिट सप्लार्यसको रहेको खुलेको छ । उक्त सप्लायर्सले आईस राख्ने डिब्बामा ५० किलो मासु राखेर भरियामार्फत भारतको रुपैडिहाबाट सहजै रुपमा भित्र्याएको खुलेको प्रहरी निरिक्षक गौतमले बताए । ‘भारतीय प्रतिबन्धित कुखुराको मासु फ्रोजन आईस डिब्बामा प्याक गरेर तस्करी गरेर सल्यानी बागमा ल्याएर राखेको सूचना पायौं, गोदामबाट गाडीमा राखेर अन्यत्र लैजादै गरेको अवस्थामा हामीले पक्राउ गर्यौ,’ उनले नगारिकसँग भने । प्रहरीले मासु तस्करीमा संलग्न एक भारतीय नागरिक, डिके मिटका कर्मचारी र गाडी चालकसहित ३ जनालाई पक्राउ गरेको छ । बरामद गरिएको मासु र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि पशु क्वारेन्टाईन कार्यालय समक्ष बुझाइएको प्रहरी निरिक्षक गौतमले बताए ।

पक्राउ परेका भरियाको बयान अनुसार डिके मिट सप्लायर्सले लामो समयदेखी नेपालगन्ज नाकाबाट मासु तस्करी गरेर ल्याउने गरेको तथ्य पनि खुलेको छ । मिट सप्लायर्सका सञ्चालक दिलिपकुमार सोनखरले नाकामा खटिने सुरक्षाकर्मी तथा भन्सार कार्यालयका कर्मचारीलाई प्रभावमा पारेर तस्करी गर्दै आएका हुन् । गतवर्ष पनि डिके मिटले नेपालगन्ज भित्र्याउँदै गरेको एक ट्रक मासु बरामद गरि नष्ट गरिएको थियो । कागज पत्रमा आलुका परिकार ल्याएको भनि भन्सार चेकपोष्टमा झुठो विवरण पेश गरेपनि छानबिनका क्रममा भारतबाट ल्याइएको फ्रोजन मासु फेला परेपछि पशु क्वारेन्टाइन कार्यालयले नष्ट गरेको थियो ।

नेपाल-भारत सिमा जमुनाहादेखी चौलिका चोक सम्म करिव आधा दर्जन प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयका चेकपोष्ट रहेका छन् । तस्करहरुले भने यि पोष्टबाट सुरक्षाकर्मी तथा भन्सार कर्मचारीलाई प्रभावमा पारेर सहजै रुपमा अबैध सामान भित्र्याउने क्रम रोकिएको छैन । तस्करीमा सुरक्षाकर्मी र भन्सार कर्मचारीको संलग्नता रहेको कुरा स्वयं तस्करीमा संलग्न व्यक्तिले बयान दिदापनि दोषी व्यक्तिहरु कारबाहीको दायरामा आउन सकेका छैनन् । पटक–पटक घटना दोहोरिन थालेपछि दोषीमाथी छानविन गरेर कारबाही गर्न सम्वद्ध सरोकारवालाले माग गरेका छन् । यस विषयमा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
-नागरिक पश्चिमेलीबाट

Womui
Womui