नेपालगन्ज मेडिकल कलेजमा अत्याधुनिक एमआरआई र सिटीस्क्यान सेवा

188

कोहलपुर-नेपालगन्ज मेडिकल कलेजले एमआरआई र सिटीस्क्यान सेवामा स्तर बृद्धि गरेको छ । कलेजले कोहलपुरमा अत्याधुनिक मेसिनमार्फत सेवा सञ्चालनमा ल्याएको हो । शिक्षण अस्पताल कोहलपुरमा आइतबार एक औपचारिक समारोहका बीच कलेजले उक्त सेवा प्रारम्भ गरेको हो ।

करिव १६ करोड रुपैयाँको लागतमा खरिद गरेको उक्त एमआरआई र सिटी स्क्यान मेसिनले छिटो र स्पष्ट रुपमा रिपोर्ट देखाउने कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले बताए । ‘अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा सञ्चालनमा आइसकेपछि यसक्षेत्रका बिरामी अब काठामाडौं वा भारतका अस्पतालमा जानुपर्ने समस्या टरेको छ,’ उनले भने ‘यि मेसिनको सहायताले छिटो र क्लियर रिपोर्ट प्राप्त गर्न सकिन्छ ।’ यस्तो प्रविधिको एमआरआई र सिटी स्क्यान मेसिन प्राइभेट क्षेत्रमा चितवन र नोबेल मेडिकल कलेजपछि नेपालगन्ज मेडिकल कलेजले मात्र नेपालमा प्रयोगमा ल्याएको कनोडियाले जिकिर गरेका छन् ।

नेपालगन्ज मेडिकल कलेजले करिव १५ वर्ष अगाडी पनि मध्य र सुदुरपश्चिम क्षेत्रमै पहिलो पटक एमआरआई र सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको थियो । पुरानो प्रविधिमा आधारित ती मेसिनभन्दा अत्याधुनिक मेसिनले ८ गुणा छिटो सेवा दिने कलेजले जनाएको छ । शरिरका विभिन्न जोर्नी, मस्तिस्क, नसा तथा टाउको सम्बन्धी लगायत समस्या भएका बिरामीका लागि एमआरआई तथा सिटी स्क्यान मेसिन प्रयोग गरिन्छ । अत्याधुनिक एमआरआई र सिटी स्क्यान मेसिन नहुँदा यसअघि यसक्षेत्रका बिरामीहरु राजधानी र भारतीय अस्पताल धाउनुपर्ने बाध्यता रहदै आएको थियो । मेसिन उद्घाटन कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक रिता भण्डारी (जोशी), अस्पतालका चिकित्सक, स्थानीय तहका जनप्रतिनिधि लगायत उपस्थित भएका थिए । सो अबसरमा बोल्ने बक्ताले मेडिकल कलेजले अत्याधुनिक मेसिनमार्फत सेवा सञ्चालनमा ल्याएसँगै यसक्षेत्रका सेवाग्राहीले लाभ लिने विश्वास गरे ।

Womui
Womui